सरकारको कार्यशैली बदल्ने प्रधानमन्त्रीको घोषणा

सरकारको कार्यशैली बदल्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कार्यशैली बदलिने दाबी गरेका छन्। तेस्रो पटक प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले एक वर्षमा सरकार असफल नभएको तर आफ्नो हुटहुटीअनुसारको परिणाम नआएको बताएका थिए।

‘म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु। देश कति बन्यो भन्ने होइन,  कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु‘ उनले भने।

उनले ‘अब सरकारको कार्यशैली बदलिने’ घोषणा गरेका थिए। केही पूर्व निर्धारित र अपरिहार्य बाहेक बाहिरका कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्ने उनले घोषणा गरे।

विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा रहेको जानकारी दिँदै उनले सरकारको कार्यशैली बदल्न यो प्रस्थान बिन्दु हुने बताए।

 ‘यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु, सिङ्गो राज्यका लागि त्यो एउटा सङ्केत र सन्देश हुनेछ’ उनले भने।

पूर्वाधार विकासमा जताततै समस्या देखिएको उल्लेख गर्दै उनले रूख कटानीको प्रक्रिया अत्यन्त जटिल रहेको र बनको भोगाधिकार र जग्गा प्राप्तिमा समेत जटिलता रहेको बताए।

एक-एकवटा कामलाई बेग्लाबेग्लै डालोमा राख्ने अनि समस्याको जरो छाडेर हाँगा छिमोल्ने गल्ती नगर्ने भन्दै उनले कार्य तालिका र समय तालिका नै बनाएर सबै सरोकारवालालाई एक ठाउँमा राखेर समग्र पूर्वाधार विकासका कानुनी, नीतिगत र प्रक्रियागत जटिलताको दीर्घकालीन हल खोज्ने बताए।

‘एकले अर्कोलाई देखाएर देशको विकास अवरुद्ध गर्ने प्रवृत्ति अन्त्य गर्छु। पूर्वाधार विकासलाई आवश्यक परे सङ्कटकाल नै घोषणा गरेर भए पनि उच्च प्राथमिकता दिनुपर्छ भन्ने मेरो विश्वास छ।’

पुष १०, २०८० मंगलबार १७:३०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।