रूसी सेनामा भर्ती हुन गएका १०० नेपाली हराएका छन्, अहिलेसम्म बिपिन जोशी सुरक्षित : परराष्ट्रमन्त्री

रूसी सेनामा भर्ती हुन गएका १०० नेपाली हराएका छन्, अहिलेसम्म बिपिन जोशी सुरक्षित : परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले रूसी सेनामा भर्ती हुन गएका करिब १०० जना नेपालीहरू हराइरहेको भन्ने बारेमा मन्त्रालयमा उजुरी परेको बताएका छन्।

मंगलबार राष्ट्रिय समाचार समिति (रासस)सँगको संवादमा उनले भने, ‘रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ यस बाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्।’

उनीहरूको खोजी र सकुशल उद्धार गरी नेपाल फर्काउनका लागि नेपालस्थित रूसका राजदूतलाई मन्त्रालयमा बोलाएर रूसी सरकारसम्म पुर्याउनका लागि मन्त्रालय र आफूले सक्दो काम गरिरहेको पनि उनले बताएका छन्।

त्यस्तै, युक्रेनमा बन्दी बनाइकाका हकमा पनि नेपाल सरकार युक्रेन सरकारको सम्पर्कमा रहेको र युक्रेन हेर्ने राजदूतले उद्धारका लागि वार्ता संवाद गरिरहेको उनले बताए।

उनले भने, ‘दिल्लीस्थित नेपाल हेर्ने युक्रेनको राजदूतावासमा पनि कुरा भइरहेको छ। अन्तर्राष्ट्रिय रेडक्रसलाई युद्ध बनाइएका चार नेपालीलाई तत्काल रिहाइका लागि सहजीकरण गरिदिन आग्रह गरेका छौँ। यसको परिणाम चाँडै आउँला भन्ने मैले विश्वास लिएको छु।’

इजरायलमा हमासको नियन्त्रणमा परेका भनिएका नेपालका नागरिक विपिन जोशीको उद्धार र रिहाइका लागि पनि अन्तर्राष्ट्रिय रेडक्रस, कतारका प्रधानमन्त्रीसम्मलाई आफैले भेटेर पहल गरिदिन आग्रह गरेको समेत मन्त्री साउदले बताएका छन्।

अहिलेसम्मको विवरणअनुसार बिपिन जोशीको जीवन सुरक्षित रहेको र आउँदो युद्धविराममा जसरी पनि विपिन जोशीलाई छुटाएर ल्याउन सकिनेमा आफूहरू विश्वस्त रहेको उनले दाबी गरेका छन्।

पुष १०, २०८० मंगलबार १७:०९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।