‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सुनैना घिमिरे पाण्डे सम्मानित
काठमाडौँ : सुनैना घिमिरे पाण्डे ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सम्मानित भएकी छिन्। काठमाडौँमा आयोजना गरिएको अप ग्राड आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा पाण्डेलाई यो अवार्ड प्रदान गरिएको हो।
सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो समयदेखि कार्यरत पाण्डे कम्प्युटर एसोसिएसन (क्यान) महासंघकी पहिलो महिला उपाध्यक्ष हुन्। उनी जनरल टेक्नोलोजी प्राइभेट लिमिटेडकी प्रबन्ध निर्देशक हुन्।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमीलादेवी बज्राचार्यले उनलाई संयुक्त रूपमा ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ प्रदान गरेका थिए।
महिलालाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरूले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण नीति अनुरूप एनसेलले यो अवार्ड प्रदान गर्दै आएको कम्पनीले जानकारी दिएको छ। यो पुरस्कारको राशि ३ लाख रुपैयाँ छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले समाजको भविष्य निर्माणमा सूचना प्रविधिको ठुलो महत्त्व रहेको बताए।
अरुकालागि प्रोत्साहन बनेका, प्रविधि र डिजिटल विकासमा योगदान पुर्याएका उहाँजस्ता महिलाहरूको सम्मान गर्न पाएकोमा हामी हर्षित छौँ’ उनले भने।
यो वर्ष वुमन आइकन आइसिटी अवार्ड विधामा कुल ३४ जना मनोनयनमा परेका थिए। यी मनोनयनहरूबाट सूचना प्रविधिको क्षेत्रमा पुर्याएको योगदानका आधारमा तीन चरणको मूल्याङ्कन पश्चात् सात जना महिला छनोटमा परेका थिए। उनीहरू मध्येबाट निर्णायक मण्डलले पाण्डेलाई छानेका थिए।
पुष १०, २०८० मंगलबार १६:००:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।