सप्तकोशीमा श्रीलंका टापु जोड्ने ‘नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल’ बन्ने

सप्तकोशीमा श्रीलंका टापु जोड्ने ‘नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल’ बन्ने

काठमाडौं : श्रीलङ्का टापुलाई जोड्न सुनसरीको बराहक्षेत्र नगरपालिका-६ को ठाकुरबारीबाट  झोलुङ्गे पुल बन्ने भएको छ। सप्तकोशी नदीमाथि बन्ने सो झोलुङ्गे पुल नेपालको सबैभन्दा लामो हुने दाबी गरिएको छ।

पुलको लम्बाइ पाँच किलोमिटर हुने बताइएको छ। पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अन्तिम चरणमा पुगेको बराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले उकेरालाई बताए।

झोलुङ्गे पुल सर्भेका लागि ऋषिकेश सर्भिस प्राइभेट लिमिटेड काठमाडौंले डिपिआरको ठेक्का पाएको छ। सर्भेको काम अन्तिम चरणमा पुगेको छ। नमुना झोलुङ्गे पुल नामकरण गरी गत आर्थिक वर्षमा पुलको स्थलगत अध्ययन र निरीक्षण भएको थियो।

बराहक्षेत्र-६ र ९ तथा उदयपुरका बेलका नगरपालिका-२ र ३ वडा श्रीलङ्का टापु क्षेत्रमा पर्छ। उक्त क्षेत्र १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइसम्म फैलिएको छ। श्रीलङ्का टापुमा चार हजार ५ सय घर धुरीका १० हजारभन्दा बढीको बसोवास रहेको छ।

जिल्ला सदरमुकाम इनरुवाबाट झन्डै ३५ किलोमिटर उत्तर पश्चिममा पर्ने टापुमा वर्षौँदेखि कृषि र पशुपालन गरेर टापुवासीले जीविका चलाउँदै आएका छन्। चारैतिर नदी भएकाले टापुवासी यातायातको साधनका रूपमा डुङ्गाको प्रयोग गर्दै आइरहेका छन्।

पुष १०, २०८० मंगलबार १५:२०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।