नो मिसन ०८४, हाम्रो मिसन भनेको मधेश आन्दोलन जोगाउने हो : राजेन्द्र महतो

नो मिसन ०८४, हाम्रो मिसन भनेको मधेश आन्दोलन जोगाउने हो : राजेन्द्र महतो

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले मधेश जोगाउनु नै मधेशवादी दलहरूको मिसन हुनुपर्ने बताएका छन्।

मधेशवादी दलहरू सत्ताको सुखमा बस्न नहुने भन्दै मधेशवादी चार दल संघर्षमा आउनुपर्ने बताएका हुन्।

सप्तरीको राजबिराजमा मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै महतोले सोधे, ‘आन्दोलन जोगिएन भने के मधेशवादी दलको मिसन ०८४ हुन्छ?’

उनले थपे, ‘मधेशवादी पार्टी मधेश आन्दोलनबाट उदाएको हो। सत्ताको सुख भोगिराख्ने अनि मिसन ०८४ भनेर हुन्छ? नो मिसन ०८४। हाम्रो मिसन भनेको मधेश आन्दोलन जोगाउने हो।’

जनताका लागि मधेशवादी दल लडेनन् भने सकिने उनले बताए।

‘चारवटै मधेशवादी पार्टी सत्ता छाडेर आउनुपर्छ,’ उनले भने, ‘आएन भने सकिने हो। त्यही जनताले तागत दिएको हो, सत्तामा बसिरहेको छ।’

लोसपा अध्यक्ष महन्थ ठाकुर पनि संघर्ष र आन्दोलन गर्न तयार नदेखिएको उनको आरोप छ।

‘मधेशवादी पार्टी लोसपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सत्ता सुखमा बस्ने होइन। संघर्षमा आउनुपर्यो।’ उनले भने।

मधेसको हितका लागि आफू मेची-महाकाली आन्दोलनमा हिँड्न लागेको उनको भनाइ छ।

‘सत्ता सुखमा बसेका मधेसवादी दल मधेस संकटमा पर्दा संघर्षमा आएनन् भने जनताले तानेर ल्याउँछन्, जनतामा त्यो तागत छ,’ उनले भने।

पुष १०, २०८० मंगलबार १३:०५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।