क्लियरिङ हाउसको वार्षिकोत्सवमा तीन बैंक सम्मानित

क्लियरिङ हाउसको वार्षिकोत्सवमा तीन बैंक सम्मानित

काठमाडौं : भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले आफ्नो १५औं वार्षिकोत्सव मनाएको छ।

काठमाडौंको होटल अलफ्टमा एक कार्यक्रमका बीच वार्षिकोत्सव मनाइएको हो।

वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलले १० वर्षभन्दा बढी समयदेखि कम्पनीमा कार्यरत आफ्ना सात कर्मचारीलाई ‘लङ सर्भिस अवार्ड’बाट सम्मान गरेको छ।

अवार्ड नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र एनसीएचएलका अध्यक्ष रामु पौडेलले हस्तान्तरण गरे।

एनसीएचएलले सबैभन्दा बढी डिजिटल कारोबार गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंक, मुक्तिनाथ विकास बैंक, गुडविल फाइनान्स र खल्ती प्राइभेट लिमिटेडलाई ‘हाइएस्ट डिजिटल ट्रान्जेक्सन’ अवार्ड प्रदान गरेको छ।

त्यसैगरी, नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयलाई एनसीएचएल प्रणाली मार्फत सरकारी कारोबारलाई डिजिटलाइजेसन गर्न खेलेको विशेष भुमिकालाई सम्मान गर्दै विशेष अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा एनसीएचएल र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) को मर्जर तथा एक्विजिसन  गर्नको लागि समझदारीपत्र आदानप्रदान भएको घोषणा समेत गरिएको थियो।

एनसीएचएलको सञ्जालमा प्रत्यक्ष रूपमा ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू र प्राविधिक सदस्यका रूपमा ९५ भन्दा गैर–बैंक संस्थाहरू छन्।

पुष १०, २०८० मंगलबार १२:५५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।