आजदेखि सौराहामा हात्ती तथा पर्यटन महोत्सव

आजदेखि सौराहामा हात्ती तथा पर्यटन महोत्सव
फाइल फोटो

काठमाडौं : आजदेखि चितवनको सौराहामा ‘हात्ती तथा पर्यटन महोत्सव’ हुँदैछ।

चितवन हात्ती महोत्सवमा सञ्चालन गरिँदै आएको गतिविधिलाई रुपान्तरण गर्दै यसपालि देखि त्यहाँका व्यवसायीहरूले पर्यटन महोत्सव आयोजना गरेका हुन्।

पर्यटन विकासको लागि पौष १० गते देखि १४ गतेसम्म मैनाहाचौरमा महोत्सव गर्न लागिएको हो। चितवन हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७ औँ सँस्करण सुरू गरिएको हो।

यस वर्षको पर्यटन महोत्सवको मुख्य आकर्षण हात्ती सुन्दरी प्रतियोगिता रहनेछ। महोत्सवलाई आकर्षक बनाउन त्यहाँका व्यवसायीहरूले चित्रसारी पुल देखि नै सौराहालाई सजाएका छन्। महोत्सव स्थललाई ध्वजाले सजाइएको छ।

कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुन सकेको थिएन। २०८० साल सुरू भएपछि सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको हो। इतिहासमै पहिलोपटक कोरोनाकालमा बन्द भएको सौराहाको पर्यटन चलायमान हुन थालेपछि त्यहाँका व्यवसायीहरूले पर्यटकीय गतिविधि सुरु गरेका हुन्।

साविकको हात्ती महोत्सवलाई परिमार्जन गर्ने भन्दै यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्ती पोलो हटाइएको छ।

पाँच दिनसम्म सञ्चालन हुने उक्त महोत्सव अन्तर्गत हात्ती श्रृंगार प्रतियोगिता, हात्ती वनभोज र डुंगा दौड प्रतियोगितालाई यथावत राखिएको छ। महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रम राखिएको छ।

पुष १०, २०८० मंगलबार ११:२७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।