रुकुम पूर्वको सदरमुकाममा एटी फाइबर सेवाको परीक्षण थालियो

रुकुम पूर्वको सदरमुकाममा एटी फाइबर सेवाको परीक्षण थालियो

काठमाडौं : नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवाको परीक्षण थालेको छ।

आइतबारदेखि एनटी फाइबर सेवाको परीक्षण थालिएको र परीक्षण सफल भएपछि छिट्टै ग्राहकहरूमा समेत सेवा थालिले प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

यसका लागि रुकुमकोटमा दुई वटा एफडीसी (फाइबर डिस्ट्रिब्युसन क्याबिनेट) मार्फत १०२४ लाइन क्षमताको नेटवर्क तयार गरिएको छ। अब रुकुमकोटमा एनटी फाइबर सेवामार्फत तीव्र गतिको डाटा, भ्वाइस र आईपीटीभी सेवा उपलब्ध गराउन सकिने छ।

हाल रुकुमकोटमा रहेका करिव दुई सय सेवाग्राहीलाई पनि एफटीटीएच प्रविधिमा रुपान्तरण गरी थप ग्राहकलाई समेत गुणस्तरीय सेवा उपलब्ध गराइने कम्पनीको तयारी छ।

यससँगै एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर उपलब्ध भएका जिल्लाको संख्या ७४ पुगेको छ। अब डोल्पा, मुगु र हुम्लामा मात्र यो सेवा पुग्न बाँकी छ। यी जिल्लामा पनि क्रमशः सेवा विस्तार गर्ने कम्पनीको योजना छ।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवा प्रदान गर्न सकिने भएकोले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी छ।

कम्पनीले यो सेवालाई ‘एनटी फाइबर’ को नाममा ब्रान्डिङ गरेको छ।

पुष १०, २०८० मंगलबार १०:४८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।