फ्रान्समा चार दिन रोकिएपछि मुम्बई फर्कियो २७६ यात्रु बोकेको विमान
एजेन्सी : मानव तस्करीको आशंकामा फ्रान्समा चार दिन रोकिएको २७६ यात्रु बोकेको चार्टर विमान मंगलबार मुम्बई विमानस्थलमा अवतरण गरेको छ।
उक्त विमानमा अधिकांश भारतीय यात्रु थिए।
युएईबाट मध्य अमेरिकी देश निकारागुआका लागि उडेको चार्टर्ड एयरबस ए३४० विमान इन्धन भर्नका लागि फ्रान्सको राजधानी पेरिसबाट १३० किलोमिटर पूर्वमा रहेको भेत्री विमानस्थलमा रोकिएको थियो।
विमानमा रहेका केही यात्रुहरू ‘मानव तस्करीको सिकार’ हुनसक्छन् भन्ने अज्ञात सूचनाको आधारमा विमान रोकिएको त्यहाँका अधिकारीहरूले जनाएका छन्।
विमानमा सवार दुई नाबालिगसहित २५ जनाले फ्रान्समा शरण लिन इच्छा व्यक्त गरेपछि उनीलाई भेत्री विमानस्थलमै झारिएको थियो। थप अनुसन्धानका लागि फ्रान्समा दुई संदिग्ध तस्करलाई पनि पक्राउ गरिएको छ।
लेजेन्ड एयरलाइन्सको उडान स्थानीय समय अनुसार मंगलबार बिहान मुम्बईमा अवतरण भएको थियो। विमानमा सवार अधिकांश भारतीय नागरिक युएईमा कार्यरत थिए। यात्रुमध्ये एक तिहाइ गुजरातका रहेको बताइएको छ।
उडानलाई निकारागुआको सट्टा मुम्बई किन डाइभर्ट गरियो भन्ने खुल्न सकेको छैन। अनलाइन उडान ट्र्याकर फ्लाइटराडरका अनुसार, लेजेन्ड एयरलाइन्स चारवटा विमान भएको रोमानियाली चार्टर एयरलाइन्स हो।
पुष १०, २०८० मंगलबार १०:३२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।