आज धान्य पूर्णिमा, योमरी पुन्हि र उधौली

आज धान्य पूर्णिमा, योमरी पुन्हि र उधौली

काठमाडौं : मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा। सनातन समाजमा यो पर्व धान्य पूर्णिमाका रूपमा परिचित छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ।

नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले देवता र पितृलाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ। विशेषगरी पहाडी भेगमा ब्राह्मणक्षत्री समाजमा कुलदेवताको पूजा गरिन्छ।

स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली पनि भनिन्छ। यो दिन कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर भोग लगाइन्छ।

नयाँ चामलबाट बनेको खीर, चामलको पीठोको बाबर र चामलको पिठोबाटै बनेको पुवा पकाएर कुलदेवतालाई चढाउने परम्परा पनि कतिपय समुदायमा  छ। कतिपय स्थानमा कुलदेवताका पूजामा पशुबलि पनि दिइन्छ।

योमरी पुन्हि
नेवार समुदायमा थिन्ला पुन्हि वा ‘योमरी पुन्हि’का रूपमा यो पर्वको महत्त्व छ। अघिल्लो दिनदेखि घर र शरीर शुद्ध गरी योमरी पकाउने चलन छ। लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ। धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ। 

उधौली
किरात समुदायका कतिपय जातजातिमा आज प्रकृति, पितृ र कुलदेवताको पूजा गर्ने चलन छ। उधौली किरात समुदायको मुख्य चाड हो।

अन्य जातिको पनि विशेष दिन
लिम्बू जातिमा बाली भित्र्याएपछिको न्वागी खाने पर्वको रूपमा मंसिरे पूर्णिमा मनाइन्छ। लिम्बूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाले चासुवा र सुनुवारले फोलष्याँदर मनाउँछन्।  

गुरुङले सिमेभूमेको पूजा गर्ने न्वागी खान्छन्। पूर्वका थारूहरूले नेमान गर्ने, आगनको ध्वजा फेर्ने र छोराको ‘वर्तमन’ गर्छन्। धानको च्युरा बनाएर सख्खर मिसाएर लड्डु बनाई देउतालाई चढाउने र नेमानमा पूजा गर्छन्।

१० पुस, २०८०, ०७:०४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।