गणतन्त्रको विकल्प छैन : देउवा

गणतन्त्रको विकल्प छैन : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन्।

आज तनहुँमा कांग्रेस तनहुँले आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका हुन्।

सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको बताए।

देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको पनि बताए।

उनले भने, ‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ। तब मात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ।’

सभापति देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको दाबी गरे। उनले भने, ‘संविधान समावेशी छ। संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन। गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रुपमा निर्माण गर्न सकिन्छ।’

यसअघि सभापति देउवाले कांग्रेस तनहुँको नवनिर्मित भवनको उद्घाटन गरेका थिए। नेपाली कांग्रेस तनुहँले निर्माण गरेको सो भवनको सभापति देउवाले शिलालेख अनावरण गरी उद्घाटन गरेका थिए।

पुष ९, २०८० सोमबार १६:४४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।