‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सुनैना घिमिरे पाण्डे सम्मानित
काठमाडौं : सुनैना घिमिरे पाण्डे ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सम्मानित भएकी छन्।
द सोल्टी काठमाडौंमा शुक्रबार आयोजना गरिएको अप ग्राड आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा पाण्डेलाई यो अवार्ड प्रदान गरिएको हो।
सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो समयदेखि कार्यरत पाण्डे कम्प्युटर एसोसिएसन (क्यान) महासंघकी पहिलो महिला उपाध्यक्ष हुन्।
उनी जनरल टेक्नोलोजी प्राइभेट लिमिटेडकी प्रबन्ध निर्देशक हुन् र क्यान महासंघको महासचिव र सचिवको पदमा रहेर पनि काम गरिसकेकी छन्।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले संयुक्त रुपमा पाण्डेलाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ प्रदान गरेका थिए।
महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरुप एनसेलले यो अवार्ड प्रदान गर्दै आएको छ। यो पुरस्कारको राशी नगद ३ लाख रहेको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले अरुका लागि प्रोत्साहन बनेका, प्रविधि र डिजिटल विकासमा योगदान पुर्याएका महिलाहरूको सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे।
सम्मानित भएपछि पाण्डेले अवार्डले प्रविधिको परिवर्तनकारी क्षमतामा विश्वास गर्नेहरूको जोश, समर्पण र सामूहिक कार्यको कदर भएको बताइन्।
यो वर्ष वुमन आइकन आइसिटी अवार्ड विधामा कुल ३४ जना मनोनयनमा परेका थिए। यी मनोनयनहरूबाट सूचना प्रविधिको क्षेत्रमा पुर्याईएको योगदानका आधारमा तीन चरणको मुल्याङ्कन पश्चात लागि ७ जना महिलाहरू छनोटमा परेका थिए।
पुष ९, २०८० सोमबार १३:२७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।