आरती साह मृत्यु प्रकरण : श्रीमान मोतीबाबु पुन: पक्राउ

आरती साह मृत्यु प्रकरण : श्रीमान मोतीबाबु पुन: पक्राउ

काठमाडौं : सर्वोच्च अदालतको आदेशपछि आरती साह मृत्यु प्रकरणमा उनका श्रीमान मोतीबाबु साह पक्राउ परेका छन्।

धनुषा प्रहरीले साहका श्रीमान मोतीबाबुलाई आज बिहान जनकपुरको सीता चोकबाट पक्राउ गरेको हो।

धनुषा प्रहरीका प्रहरी निरीक्षक उपेन्द्र खरेलले मोतीबाबुलाई सूचनाको आधारमा जनकपुरधाम वडा नम्बर १ मा रहेको सगुन ग्यालेक्सी होटलबाट पक्राउ गरिएको बताए। उनका अनुसार पक्राउ परेका मोतीबाबुलाई सार्वजनिक विदा सकिएपछि अदालतमा पेस गरिने छ।

गत मङ्सिर २० गते सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले आरतीका श्रीमानलाई थुनामा पठाउने आदेश दिएको थियो।

आरती गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन्। आरतीले आत्महत्या गरेको भन्दै परिवारले प्रहरीलाई खबर गरेका थिए भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएका थिए।

माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो। उनीहरू विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय धनुषाले १ असारमा जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो। थुनछेक बहसपछि ५ असारमा जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

तर उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएको थियो।

उच्च अदालतको आदेश विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले मङ्सिर २० मा सुनुवाइ गरेको थियो। सुनुवाइपछि ससुरा मदनमोहन ब्याहुत सुडीलाई रिहा गर्ने उच्च अदालतको आदेश सदर गरेको छ भने श्रीमान् मोतीबाबुलाई भने थुनामा पठाउने आदेश दिएको थियो।

छोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आरतीकी आमा, बुबा, बहिनी, मामा लगायत करिब तीन महिनादेखि काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिँदै आएका थिए।

आरती र मोतीबाबुबीच २९ असार २०७७ मा विवाह भएको थियो। दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना पाएको र मृत्युको कारण पनि यही भएको माइती पक्षको आरोप छ।

पुष ९, २०८० सोमबार १३:१६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।