लुम्बिनीको उद्योगमन्त्री रोज उर्फ सरोजको योग्यता : सुराकी, फिल्म निर्मातादेखि नग्न डान्सबार सञ्चालकसम्म

लुम्बिनीको उद्योगमन्त्री रोज उर्फ सरोजको योग्यता : सुराकी, फिल्म निर्मातादेखि नग्न डान्सबार सञ्चालकसम्म

बुटवल : २०७३ साउन ३१ गते मध्यबानेश्वरको एक रेस्टुरेन्टमा गुन्डाको परिचय बनाएका फिल्म निर्माता रोज राणामाथि खुकुरी प्रहार भयो। बेलुका ७ बजेतिर सेन्ट्रल क्याफे अगाडि राणाको हात ताकेर खुकुरी हानेका थिए। उनी गम्भीर घाइते भएका थिए।

रोजमाथि आक्रमणमा गरेको आरोपमा तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखा(काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय) ले विवेचना प्रजापति र सूर्य लामालाई पक्राउ गर्यो। उनीहरू पक्राउपछि रोजको हात छिनाल्नेगरी आक्रमण गर्न उनीहरूले ३० लाखमा काम पाएको खुल्यो।

राणामाथिको आक्रमणको घटना २०७१ साउन २१ मा काठमाडौंको भीमढुङ्गा भन्ज्याङ नर्सरीमा भएको इन्काउन्टर घटनामा गएर जोडियो। त्यो दिन एमाले निकट अर्का गुन्डा नाइके दिनेश अधिकारी चरी प्रहरी इन्काउन्टरमा मारिएका थिए।

नेपालमा खोजी सुरू भएपछि त्यो बेला सुजन पौडेल(रमेश बाहुन) अनि चरी भागेर भारतमा बसेका थिए। रोज पनि उतै थिए। प्रहरीले पहिला रमेश बाहुनको इन्काउन्टरको योजना बनाएर पक्राउ गरेर नेपाल ल्याएको थियो। तर उनी पक्राउ परेको पोल खुल्दा उनको ज्यान जोगियो। प्रहरीमा आपराधिक रेकर्ड पनि भएको र फरार रहेको गुन्डा नाइकेको चयन गर्दा चरी परे।

उनी नेपालमा आएर आफ्नो मुद्दा मिलाउने तयारीमा थिए। उनी काठमाडौँमा आएर आफ्नो वकिलसँग भेटगरी धादिङ जाने तयारीमा रहेको सूचना चुहिएपछि ट्रयापमा परेर मारिए। प्रहरीले पच्छ्याउनेक्रममा प्रहरीमाथि प्रहार गर्न खोजेपछि प्रतिकारमा मारिएको दाबी गरेको थियो।

भारतबाट ल्याइएका रमेश बाहुन कलङ्कीको खसी बजारमा हिँडिरहेको बेलामा पक्राउ परेको भन्दै अवैध हतियार र लागु औषधमा केन्द्रीय कारागार पुगिसकेका थिए।

चरीबारे सूचना खुश्बु ओली र रोजलाई थियो। चरीको सूचना प्रहरीसम्म पुर्याउन रोजको भूमिका रहेको भन्दै चरी समूहका अन्य सदस्यले उनको हात छिनाल्न सुपारी दिएका थिए।

२०८० मा उनै रोज राणा सरोज थापाका रूपमा लुम्बिनी प्रदेशको उद्योग  वाणिज्य तथा यातायात मन्त्रीमा नियुक्त भए। आफ्नै पार्टीभित्र विरोध हुँदाहुँदै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रकी कृष्णा केसीलाई सहरी विकास मन्त्रीसँगै थापालाई पनि मन्त्रीको शपथ खुवाए।

रोज राणा उनको नक्कली नाम थियो। मन्त्री हुँदा सक्कली नाममै शपथ खाए। माओवादी द्वन्द्वकालमा प्रहरीलाई सूचना दिएको आरोपमा माओवादीले खोजेपछि प्यूठानबाट भागेका सरोज थापा काठमाडौं आएर रोज राणा भएका थिए।

उनी कांग्रेसको राजनीतिमा लागेको धेरै लामो समय भएको छैन। साङ्घातिक हमलापछि नै हो उनी रात्रीकालीन व्यवसाय र फिल्म निर्माणको काम छाडेर राजनीतिमा लागेको।

नेपाली कांग्रेसभित्र आरजु राणा देउवाको प्रिय पात्रको छवि बनाएका उनी जिल्ला फर्किएर राजनीतिमा लागे। आरजुको आशीर्वादले उनी छोटो समयमै कांग्रेसको राजनीतिमा जम्दै गए। उनी प्युठान २ को पार्टीको क्षेत्रीय सभापति निर्वाचित भए।

२०७९ मा प्रदेशको टिकट पाएर गठबन्धनबाट निर्वाचित पनि भए पनि मन्त्रीको सूचीमा थिएनन्। संस्थापनपक्षको तारन्तार दबाबपछि चौधरीले संस्थापनइतर समूहको असहमतिमा थापालाई मन्त्री बनाए। आइतबार मन्त्रीको शपथका लागि आयोजित समारोह कांग्रेस संस्थापनइतर समूहले बहिष्कार गरेका थिए।

फिल्म निर्मातादेखि नेकेड डान्सबार सञ्चालकसम्म
सरोजबाट रोज बनेका उनको पहिलो सार्वजनिक छवि फिल्म निर्माता नै हो। उनले ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘महान्’, ‘टक्कर दुई मुटुको’ लगायतका फिल्म निर्माण गरेका थिए। उनले ‘मेरो पैसा खोइ’ र ‘जय परशुराम’को निर्देशन समेत गरे।

फिल्म क्षेत्रका कलाकार उनको डनगिरीबाट हैरान थिए। आफ्नो फिल्म अभिनय गर्न नमान्ने कलाकारलाई उनी अपहरणै गर्थे। त्यो बेलाका स्टार निखिल उप्रेतीले उनको फिल्ममा अभिनय गर्न नमान्दा घरैबाट उडाउने धम्की दिएको घटना प्रहरीसम्म पुगेको थियो।

फिल्म त एउटा देखाउने धन्दा भइहाल्यो। उनको असली धन्दा रात्रिकालीन व्यवसाय थियो। त्यो बेलामा काठमाडौँमा नग्न डान्सबारको बिगबिगी थियो। रोजको बागबजार अनि गंगबुमा डान्सबार थियो। बागबजारमा रहेको उनको डान्सबार नग्न नृत्यका लागि कुख्यात थियो।

काठमाडौँमा तत्कालीन एसएसपी थिए रमेश खरेल। बागबजारमा रहेको टप भिआईपी डान्सबारमा छापा मार्नेक्रममा पक्राउ परेका युवतीहरूले बार सञ्चालकले जवर्जस्ती नाङ्गै नचाउने गरेको बयान दिएपछि खरेलले रोजमाथि मानववेचविखनको आरोपमा अनुसन्धान प्रक्रिया अगाडि बढाए।

केही महिना लुकेका उनी बागबजार क्षेत्रमै पक्राउ परे। काठमाडौँ जिल्ला अदालतको आदेशमा उनी केन्द्रीय कारागारमा सात महिना जेल पनि बसे। पछि उनले मानव बेचविखनको अभियोगबाट सफाइ पाएका थिए।

पुष ८, २०८० आइतबार २३:०९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।