मेयर भरतको बायोग्राफी फिल्म ‘मेयर’का निर्देशक दीपेन्द्र अख्तियारको फाइल पढ्दै, रिसाउँदै सोधे- ‘तपाईं अदालत हो?’

मेयर भरतको बायोग्राफी फिल्म ‘मेयर’का निर्देशक दीपेन्द्र अख्तियारको फाइल पढ्दै, रिसाउँदै सोधे- ‘तपाईं अदालत हो?’

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीका चाङ, मधेस प्रदेशमा ३० करोड बढी अनियमितता भएको भन्दै उजुरी, हत्या अभियोगमा कारागारमा रहेका सञ्जय शाह(टकला)को सहयोगीको पृष्ठभूमि।

भरत ताल निर्माण गरेर चर्चामा आएका बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको पृष्ठभूमि बाहिर चर्चा भएजस्तो वाह देखिँदैन। शंकै शंकामा घेरिएको उनीमाथि नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे दल नेकपाका नेता कुमार पौडेल इन्काउन्टरमा समेत जोडिएको आरोप पनि छ।

स्थानीय तहको ठेक्कापट्टा अनि निर्माणका कामका लागि सङ्गठित समूह नै परिचालन गर्ने गरेको लगायत दर्जनौं विषयमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी टुंगो लागेको छैन।

उनै थापाको बायोग्राफीमा फिल्म ‘मेयर’ बन्दैछ। व्यक्तिगत खर्चमा कसैमाथि किताब लेखिनु अनि फिल्म बन्नु के नै ठूलो कुरा भयो र!

तर, व्यावसायिक रूपमा ‘सचेत फिल्मकर्मी’ भनेर परिचित निर्देशक दीपेन्द्र के खनालले यो फिल्म निर्देशन गर्ने समाचार बाहिरियो तब फिल्मको पात्रबारे जानकारमाझ चर्चा सुरू भयो।

त्यसैमा जोडिएर आए अर्का कलाकार खगेन्द्र लामिछाने। उनी फिल्ममा भरतकुमार बन्नेगरी अनुबन्ध भएपछि थप चासो बढ्ने नै भयो।

यसैबारे उकेराले फिल्मका निर्देशक दीपेन्द्रसँग छोटो भलाकुसारी गरेको थियो। उनले अधिकांश प्रश्नको उत्तर टेढो-टेढो दिए।

उकेराकर्मीले भरत थापाबारे फिल्म निर्माण गर्दै हुनुहुन्छ। फिल्ममा उनको पोजेटिभ मात्रै कथा आउँछ कि नेगेटिभ पनि भनेर प्रश्न गर्दा उनले ‘त्यो फिल्म हेरेपछि थाहा हुने’ बताए।

‘त्यो त फिल्म हेरेपछि थाहा हुन्छ नि! अहिले त म तपाईँहरूलाई कसरी भन्न सक्छु र?’, उनले भने।

अख्तियार, मधेस प्रदेशको लेखा समितिमा उनीविरुद्ध भ्रष्ट्राचार गरेको भन्दै उजुरी परेको लगायतका विषयमा जिज्ञासा राख्दै पृष्ठभूमि त खलनायकको जस्तो देखिन्छ। प्रस्तुति कसरी गर्ने तयारी छ भनेर उकेराले पुन उनलाई सोध्यो।

‘अहिले तपाईंहरूलाई कसरी प्रस्तुत गर्छौँ भनेर भन्न जरुरी नै भएन। कुनै व्यक्ति विषयमा फिल्म बन्छ भने उसको सबै कुराहरू समेटिहाल्छ। राम्रो पक्ष होला, कति नराम्रो पक्ष होला। आरोप होला। त्यसको तथ्य होला, प्रमाण होला। त्यो त आइ नै हाल्ला। अहिले नै यो वा त्यो भनेर तपाईं अदालत पनि होइन होला। कोही मान्छेलाई अख्तियारमा उजुरी पर्दैमा त्यो मान्छे क्रिमिनल हुने अथवा दोषी हुने त पक्कै होइन होला’, उनले भने।

निर्देशक खनालले भरत थापा र सञ्जय साह टकलाबीचको सम्बन्धबारे अध्ययन गरिरहेको समेत बताए। उनका अनुसार मेयर थापा आफैँले सञ्जयको बारेमा जानकारी गराएको र सोही अनुसार कथा तयार पारिरहेको उनले बताए।

‘उहाँले पनि धेरै कुराहरू बताउनुभएको छ। उहाँले नै कागज प्रमाण दिनुभएको छ,’ उनले थपे, ‘अख्तियारको फाइल त उहाँले नै दिनुभएको छ हामीलाई, ल है मेरो यस्तो किसिमको कुराहरू छ भनेर। त्यो अध्ययन गरेकै धेरै कुराहरू आउँछ।’

फिल्मको निर्माता थापाकै छोरी अर्विसा थापा हुन्।  सागर मैनाली समेत निर्माणमा जोडिएका छन्।

पुष ८, २०८० आइतबार १८:५०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।