प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : एपीएफले हरायो लुम्बिनी प्रदेशलाई

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : एपीएफले हरायो लुम्बिनी प्रदेशलाई
तस्बिर : क्यानको फेसबुकबाट !

काठमाडौं: प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको आजको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई ९० रनले हराएको छ।

लुम्बिनीलाई ९० रनको फराकिलो अन्तरले जितेको एपीएफको जारी प्रतियोगितामा यो लगातार तेस्रो जित हो। तीन खेल खेलेको लुम्बिनी प्रदेशले भोगेको यो दोस्रो हार हो। एक खेलमा लुम्बिनी प्रदेश विजयी भएको थियो।

टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफ क्लबले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो।

लुम्बिनी प्रदेशका लागि ओपनर लक्ष्मी चौधरीले मात्र दोहोरो अंकमा रन बनाउन सकिन्। लक्ष्मीले २८ रन बनाइन्। उनले ४९ बलको सामना गरी दुई चौका प्रहार गरिन्। अन्य ब्याटले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

आस्मा पुलामी मगर चार र कप्तान सरस्वती जीएम नौ रनमा आउट भए। सरस्वती पुनले एक रन बनाइन् भने चमेली चौधरीले खातासम्म खोल्न सकिनन्। सुस्मिता बजगाईले टोलीको खातामा आठ रन थपिन्। कमला जीम र मधु डीसी शून्य रनमै पेभेलियन फर्किए। कृतिका मरासिनीले चार रन जोडिन्। सर्मिला रोक्का शून्य र मनिषा राना एक रनमा अविजित रहिन्।

लुम्बिनीले अतिरिक्त रुपमा ६ रन पायो। एपीएफ क्लबकी बलर इन्दु बर्माले तीन विकेट लिइन्। उनी प्लेयर अफ दी म्याच पनि घोषित भइन्। बिनु बुढाले दुई विकेट हात पारिन्। रेखा रावल, करुणा भण्डारी र सीता रानामगरले पनि एक–एक विकेट लिए।

त्यसअघि काठमाडौँ स्थित मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ रोजेको एपीएफ क्लबका लागि ओपनर ममता चौधरीले अर्ध शतकीय योगदान गरिन्। ममताले ५९ रन बनाइन्। उनले ५८ बलको सामना गरी पाँच चौका पनि हिर्काइन्। तेस्रो नम्बरकी ब्याट्र इन्दु बर्माले अविजित ७० रनको योगदान गरिन्।

प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएकी इन्दुले केवल ५१ बलमा एक छक्का र सात चौका पनि प्रहार गरिन्। ओपनर सीता राना मगरले ६ बलमा दुई चौकाको मद्दतले नौ रन बनाइन्। उनी टोलीकी कप्तान पनि हुन्। राजमती ऐरी दुई रनमा पेभेलियन फर्किइन्। रोमा थापाले अविजित तीन रन बनाइन्।

एपीएफ क्लबले अतिरिक्त रुपमा आठ रन पायो। लुम्बिनी प्रदेशकी बलर शर्मिला रोक्का र सरस्वती पुनले एक–एक विकेट लिए।

पुष ८, २०८० आइतबार १३:१८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।