मर्जरको एकवर्ष पछि सूर्यज्योति लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष पुग्यो ३० अर्ब

मर्जरको एकवर्ष पछि सूर्यज्योति लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष पुग्यो ३० अर्ब

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरेको छ।

जीवन बीमा कम्पनीहरू मध्ये पहिलो पटक मर्जरको अभ्यास गरेको यस कम्पनीले मर्जरपछि चुक्ता पूँजी ४ अर्ब ५४ करोड रूपैयाँ पुर्याएको थियो। संयुक्त कारोबार सुरू गरेको एक वर्षको अवधिमा सूर्यज्योतिको जीवन बीमा कोष झन्डै ८ अर्ब रूपैयाँले बढेर ३० अर्ब रूपैयाँ पुगेको छ।

कम्पनीको कूल लगानी करिब ३५ अर्ब रूपैयाँ रहेको छ।

कम्पनीले मंसिर मसान्तसम्ममा आफ्नो कुल सम्पत्ति ७ अर्ब ४० करोड रूपैयाँ भएको बताएको छ। चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा सूर्यज्योति लाइफले कूल ५२ करोड रूपैयाँ बीमा दाबी भुक्तानी गरेको छ।

देशभर १७६ शाखा सञ्जाल रहेको कम्पनीले करिब २३ लाख जीवन बीमालेख बिक्री गरिसकेको कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले बताए। सबैभन्दा ठूलो रोजगारदाता जीवन बीमक भएको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार हाल ५७९ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् भने देशभर झन्डै ९४ हजार अभिकर्ता सूर्यज्योति लाइफमा आबद्ध छन्।

सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले २०७९ असार १२ गते मर्जरका लागि सहमति पत्रमा हस्ताक्षर गरेका थिए। बीमांकी मूल्याङ्कन, विस्तृत लेखा परीक्षण र साधारण सभा पछि यी दुवै कम्पनीले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गर्दै २०७९ पौष ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ भएको थियो।

पुष ८, २०८० आइतबार ११:४६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।