निजामती ऐन, संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन अध्यादेशबाट भएपनि ल्याउने कानुनमन्त्रीको दाबी

निजामती ऐन, संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन अध्यादेशबाट भएपनि ल्याउने कानुनमन्त्रीको दाबी
फाइल फोटो

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसद सुचारु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याउने बताएका छन्।

आज काठमाडौंमा भएको पार्टीको बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले संघीय निजामती ऐन, संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन र शिक्षा विधेयकहरू संसद सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत ल्याउने बताए।

उनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन छिटै संघीय कानुनहरू पारित गर्ने तयारीमा रहेको बताए।

उनले भने, ‘प्रदेशहरूले झण्डा पाए, दण्ड पाएनन् भन्ने कुरा आयो। महत्त्वपूर्ण ऐन, कानुन, शिक्षा विधेयक, संसदमा विचाराधीन छ। संघीय कर्मचारी ऐन र संघीय प्रहरी ऐन संसदबाटै विधेयक पारित गरेर ल्याउँला।संसद १५–२० दिन ढिला हुने भयो भने अर्को बाटो पनि अवलम्बन गर्नसक्छौँ। जसरी पनि महत्वपूर्ण ऐनहरू लिएर आउने हो, कार्यान्वयन गर्ने हो।’

नेपाली काँग्रेसका उपसभापति समेत रहेका गुरुङले काँग्रेसको आनीबानी र व्यवहारमा सुदृढ गर्न आवश्यक रहेको बताए।

पुष ७, २०८० शनिबार १४:४०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।