नेपालमा केही छैन भन्ने नकारात्मक प्रचार भइरहेको छ, युवाले सपना पूरा गर्न विदेश जानुपर्दैन : अर्थमन्त्री

नेपालमा केही छैन भन्ने नकारात्मक प्रचार भइरहेको छ, युवाले सपना पूरा गर्न विदेश जानुपर्दैन : अर्थमन्त्री

काठमाण्डौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले युवाले सपना पूरा गर्न विदेश जानु नपर्ने बताएका छन्।

आज नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको ‘स्टार्टअप फेस्ट २०२३’ कार्यक्रममा अर्थमन्त्री महतले अवसर नेपालमै रहेको भन्दै युवाले सपना पूरा गर्न विदेश नै जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउनुपर्ने बताए।

युवालाई देशभित्रै अवसर नै अवसर रहेको उल्लेख गर्दै उनले ठूला विकसित देशमा नयाँ इनोभेसन भएमात्रै नेपाली युवाले अवसर पाउने बताए।

उनले नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको बताए।

नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्रमा ठूलो सम्भावना रहेकाले युवा त्यस क्षेत्रतर्फ लाग्न आवश्यक रहेको उनकाे भनाइ छ।

‘अहिले युवा विदेश जाने प्रणाली विकास भएको छ। त्यसलाई रोक्न पनि आईटी क्षेत्रको प्रवर्द्धन गर्न आवश्यक छ। अहिले ४० प्रतिशतभन्दा बढी युवा आईटी क्षेत्रमा जोडिनुभएको छ। विदेशमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति आउँछ भने त्यस्ताे अवस्थामा जान आवश्यक हुन्छ। तर कुनै छात्रवृत्ति छैन र आकर्षक विज्ञापन गरेको आधारमा युवा विदेश गइरहेका छन्। त्यसरी गएकाहरूकाे बेहाल छ।’ उनले भने, ‘विदेशमा सबैका लागि सहज छैन। अहिले १२ कक्षा पढेपछि बाहिर जाने क्रम चलेको छ। युवाले नै यसलाई रोक्न अग्रसर हुनुपर्छ। नेपालमा नै धेरै अवसर छन्। नेपालमा अझै धेरै गर्न बाँकी भएको हुनाले यही नै अवसर छ। नेपालमा केही काम छैन, विदेशमा मात्रै छ भन्ने नकारात्मक प्रचार भइरहेको छ।’

पुष ७, २०८० शनिबार १४:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।