क्रिसमस डिनरमा सहभागी एयरबस एट्लान्टिकका सात सय कर्मचारी बिरामी
एजेन्सी : क्रिसमस डिनरपछि एयरबस एट्लान्टिक कम्पनीका ७०० भन्दा बढी कर्मचारी बिरामी परेका छन्।
कम्पनीको पश्चिमी फ्रान्सस्थित साइटका सात सय कर्मचारीहरू क्रिसमस डिनरपछि बिरामी भएको फ्रान्सेली स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ।
कर्मचारीहरूले डिनरपछि बान्ता र पखाला लागेको गुनासो गरेका थिए।
ठूलो मात्रामा भएको फुड पोइजनको स्रोत पत्ता लगाउन अनुसन्धान सुरू गरिएको समाचारमा उल्लेख छ।
क्रिसमसअघि दिइएको डिनरको मेन्यूमा के थियो भन्ने अझै स्पष्ट हुन सकेको छैन। एयरबस एट्लान्टिकले अहिलेसम्म यस विषयमा आफ्नोतर्फबाट कुनै बयान जारी गरेको छैन।
एयरबस एट्लान्टिक विश्वको सबैभन्दा ठूलो विमान निर्माता एयरबसको सहायक कम्पनी हो। यसले पाँच देशका १५ हजारलाई रोजगारी दिएको छ।
पूरै एयरबस समूहमा १ लाख ३४ हजार मानिसहरू काम गर्छन्। समूहले विमान, हेलिकप्टर, रक्षा, अन्तरिक्ष र सुरक्षा उद्योगहरूमा काम गर्दै आइरहेको छ।
पुष ७, २०८० शनिबार १३:५१:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।