प्रो क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको पहिलो जित, युपी ११ छ विकेटले स्तब्ध
काठमाडौं : वीरगञ्जमा जारी ‘नेपाल प्रो क्लब च्याम्पियनसिप’मा शनिबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले भारतको युपी ११ लाई ६ विकेटले पराजित गरेको छ।
जारी प्रतियोगितामा नेपाल पुलिस क्लबको यो पहिलो जित हो। पुलिस पहिलो खेलमा नेपाल आर्मी क्लबसँग ८ विकेटले पराजित भएको थियो।
उता युपी ११ को भने प्रतियोगितामा तेस्रो हार हो। पहिलो दुई खेल उसले पर्सा ११ र एपीएफ ब्लबसँग पराजित भएको थियो।
८९ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले ओभरमा ४ विकेट गुमाएर भेट्टायो। उसका लागि शंकर रानाले अविजित ३४ रन बनाउँदा आरिफ शेख २३ र दिलिप नाथले २१ रन बनाएर आउट भए।
युपी ११ का शहन्शा अहमदले दुई तथा भीम शर्मा र वासी अन्सारीले एक–एक विकेट लिए।
त्यसअघि वीरगञ्जको नारायणी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको युपी ११ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८८ रन जोड्यो।
उसका लागि निखिल प्रतापले सर्वाधिक २४ रन बनाउँदा जयदीप सिंहले १७, शुभम चौधरीले १५, भीम शर्माले ११, मन्थन प्रसादले १० रन जोडे।
नेपाल पुलिसका सागर ढकाल र रशिद खानले समान दुई–दुई विकेट लिए।
तीन विभागीयसहित चार नेपाली टिम र दुई भारतीय टिमबीच प्रतियोगिता भइरहेको छ।
नेपालबाट नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपीएफ क्लब, पर्सा ११ सहभागी हुँदा भारतबाट युपी ११, र वन्डर्स क्लब नोयडा छ।
सिंगल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष चार टिमले सेमिफाइनल खेल्नेछन्। फाइनल खेल ३० डिसेम्बरमा हुनेछ।
पुष ७, २०८० शनिबार १२:२१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।