कानुन नै संशोधन गरेर प्याट्रियट मिसाइल अमेरिकालाई बेच्ने जापानको घोषणा

कानुन नै संशोधन गरेर प्याट्रियट मिसाइल अमेरिकालाई बेच्ने जापानको घोषणा

एजेन्सी : जापानले अमेरिकालाई मिसाइल बेच्ने भएको छ।

आफ्नो शान्तिवादी नीतिबाट पछि हट्दै जापानको सरकारले स्वदेशमा उत्पादन भएको प्याट्रियट डिफेन्स मिसाइल अमेरिका निर्यात गर्ने घोषणा गरेको हो।

जापानको यो कदमके ह्वाइट हाउसले स्वागत गरेको छ। जापानले यी मिसाइलहरू निर्यात गरेसँगै अमेरिकाले आफ्नो भण्डारबाट युक्रेनमा थप हतियार पठाउन सक्ने बताइएको छ।

रुस र युक्रेनबीच चलिरहेको युद्धमा पश्चिमी देशहरूले हतियार अभाव झेलिरहेका छन्।

जापानले अहिलेसम्म लाइसेन्सप्राप्त उपकरणको बनाउने तरिका र सामग्री मात्र उत्पादन लाइन्सेन्स भएको देशलाई बेच्ने गरेको थियो।

तर, परिवर्तित नयाँ नियमअनुसार उसले अब तयारी अवस्थामा रहेको मिसाइल र हतियार पनि बेच्न सक्नेछ।

जापानमा प्याट्रियट मिसाइलको निर्माण अमेरिकी रक्षा कम्पनीहरू लकहीड मार्टिन र आरटीएक्सको लाइसेन्स अन्तर्गत मित्सुबिशी हेभी इन्डस्ट्रिजले गर्दै आएको छ।

शुक्रबार जापान सरकारले नियम परिवर्तनको घोषणा गरेको केही समयपछि परराष्ट्र मन्त्रालयले ‘जापान-अमेरिका सम्बन्धलाई अझ बलियो बनाउन’ प्याट्रियट मिसाइल अमेरिका पठाउन लागिएको बताएको थियो।

मन्त्रालयले यो मिसाइलहरू अमेरिकालाई मात्र दिन सकिने आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।

अमेरिकाले कुनै तेस्रो देशमा यी मिसाइलहरू पठाउनुअघि उसले जापानको स्वीकृति लिन आवश्यक रहेको विज्ञप्तिमा दाबी गरिएको छ।

युद्धग्रस्त देशहरूलाई हतियार निर्यात गर्न जापानमाथि प्रतिबन्ध छ।

पुष ७, २०८० शनिबार ०८:२५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।