९८ रनमा अलआउट भएको न्यूजिल्याण्डमाथि बंगलादेशको ऐतिहासिक जित

९८ रनमा अलआउट भएको न्यूजिल्याण्डमाथि बंगलादेशको ऐतिहासिक जित

काठमाडौं : घरेलु टोली न्यूजिल्याण्डविरुद्ध बंगलादेशले ९ विकेटको शानदार र ऐतिहासिक जित निकालेको छ।

केही बेरअघि सकिएको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा ९९ रनको लक्ष्य पछ्याएको बंगलादेशले १५.१ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो।

बंगलादेशले न्यूजिल्याण्डमाथि उसकै मैदानमा हराएको यो पहिलो पटक हो। यसअघि बंगलादेशले न्यूजिल्याण्डलाई उसकै मैदानमा कहिल्यै पनि हराएको थिएन।

बंगलादेशका लागि कप्तान नजमुल हुसेन सान्तोले अविजित रहँदै ५१ सर्वाधिक रनको अर्धशतकीय जोडे। त्यसबाहेक अनामुल हकले ३३ बलमा ३७ रन बनाउँदै आउट हुँदा लिट्टन कुमार दासले २ बलमा  १ रनको अविजित पारी खेले।

न्यूजिल्याण्डका विलियम ओरुर्कले एक विकेट लिए।

त्यसअघि न्यूजिल्याण्डको मेक्लिन पार्कमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोलीले ३१.४ ओभरमा सबै विकेट गुमाएर मात्र ९८ रनमा समेटियो।

उसका लागि विल योङले सर्वाधिक २६ रन जोडे। कप्तान टम लाथम २१, जोस क्लार्कसन १६ र आदित्थ अशोकले १० रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बंगलादेशका शोरिफूल इस्लाम, तन्जिम हसन सकिब र सौम्य सरकारले समान तीन–तीन तथा मुस्ताफिजुर रहमानले एक विकेट हात पारे।

यसअघि भएका सिरिजको पहिलो खेल ४४ रन र दोस्रो खेल ७ विकेटले जित्दै घरेलु टोलीले एक खेल अगावै उपाधि रक्षा गरिसकेको थियो।

यी दुई टोलीबीच २७ डिसेम्बरदेखि तीन खेलको टी२०आई सिरिज हुनेछ।

पुष ७, २०८० शनिबार ०७:५७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।