नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने

नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने

काठमाडौं : नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ।

तुइन खोलामा पुल बनाउन भित्ता काट्नुपर्ने भएपछि सडकखण्ड बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए।

उनका अनुसार भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो।

नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र चलाउन पाइने छ।

काठमाडौंबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०ः५५ सम्म तथा मालवाहक सवारी सधान १०ः४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताए।

यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०:५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०:४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ।

पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ। गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो।

पुष ७, २०८० शनिबार ०७:२८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।