पोखरा सडक महोत्सवमा शिव ताण्डवदेखि र्‍यापसम्म, होटलले शुल्क बढाए कारबाही हुने

पोखरा सडक महोत्सवमा शिव ताण्डवदेखि र्‍यापसम्म, होटलले शुल्क बढाए कारबाही हुने

काठमाडौँ : अङ्ग्रेजी नयाँ वर्ष २०२४ पारेर पोखरामा आयोजना हुन लागेको ‘स्ट्रिट फुड फेस्टिभल’ को तयारी पुरा भएको छ।

शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महोत्सव आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) ले पुस १२ देखि पुस १६ सम्म हुने सडक महोत्सवको तयारी पुरा भएको जानकारी दिएको हो।

महोत्सव आयोजनाको रजत वर्ष भएकाले यसपटक महोत्सवलाई आफूहरूले विशेष बनाउन सोही अनुसारको तयारी गरेको आयोजकले दाबी गरेका छन्।

महोत्सव पोखराको लेक साइडसम्मको करिब ३ किमी क्षेत्रमा आयोजना हुनेछ।

'२५ वर्ष पहिले हाम्रा अग्रजहरूले पोखरालाई मुख्य पर्यटकीय मौसममा मात्र नभई सालैभर घुमघामको गन्तव्य बनाउनुपर्छ भनेर यसको सुरुवात गर्नुभएको थियो। आज यो देशकै सबैभन्दा ठुलो सडक महोत्सव बनेको छ। यो रजत वर्ष अझ विशेष बनाउनेछौँ', रेवान अध्यक्ष भट्टराईले भने।

महोत्सवको मुख्य आकर्षणको रूपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेसभुसा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, बेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुच, पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीहरूको विषयमा केन्द्रीकृत गरी टक सो कार्यक्रम, स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषी, वनस्पति लगायतका कृषी उपजहरूको प्रदर्शन रहेको आयोजकले जानकारी दिएका छन्।

लेक साइडको तीन किलोमिटर लामो सडक क्षेत्रमा हुने गतिविधि सबैका लागि नि:शुल्क हो भने सांगीतिक कार्यक्रममा भने प्रवेश शुल्क लाग्नेछ।

आयोजकले यसपटक स्टेज शोका लागि खल्ती एपबाट अनलाइन टिकट काट्न सकिने व्यवस्था गरेको छ।

महोत्सवको २५ औँ वर्ष भएकाले यसपटक हल्लन चोकदेखि कन्सर्ट आयोजना स्थलसम्म विशेष आरती र शिव ताण्डव नृत्य प्रस्तुत गरिने आयोजकले जानकारी दिएका छन्।

महोत्सवको न्यु इयर इभमा र्यापर लाउरे र  द एलिमेन्ट्स ब्यान्डको प्रस्तुति दिनेछन् भने डिसेम्बर ३० तारिखमा मुक्ति एन्ड रिभाइबल,दीपक बज्राचार्य लगायतका कलाकार सहभागी हुँदैछन्।

प्रीति आले, पशुपति शर्मा, बद्री पँगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, जीवन दाहालको साथमा १० बढी स्थानीय ब्यान्डहरूले साङ्गीतिक प्रस्तुति दिने आयोजकले जानकारी दिए।

नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले यस्ता महोत्सवले आन्तरिक मात्र नभएर बाह्य पर्यटक समेत आकर्षित हुने र पर्यटन प्रवर्द्धन हुने बताएका थिए।

रेवानले कार्यक्रमको सुरक्षा व्यवस्थाका लागि सबै निकायसँग समन्वय गरिएकाले कुनै समस्या नहुने र होटेलहरूले नियमित समयमा लिदैं आएको भन्दा बढी रेट लिएमा कारबाही गर्ने जानकारीसमेत दिएका थिए।

पुष ६, २०८० शुक्रबार १९:५५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।