महिला टि–२० क्रिकेटमा कोशीको दोस्रो जीत, बागमतीको पहिलो हार

महिला टि–२० क्रिकेटमा कोशीको दोस्रो जीत, बागमतीको पहिलो हार

काठमाडौँ : प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रवारको खेलमा कोशी प्रदेशले वाग्मती प्रदेशलाई आठ विकेटले हराएको छ।

जीतका लागि वाग्मतीले कोशीलाई ८८ रनको लक्ष्य दिएको थियो। लक्ष्य मध्यम भएकाले जवाफी ब्याटिङ गर्न आएको कोशीको टिमले दुई विकेटको क्षतिमा १८ दशमलव १ ओभरमै लक्ष्य पुरा गर्यो।

कोशीको जीतमा काजल श्रेष्ठले सर्वाधिक ४१ रन बनाएकी थिइन्। उनले ५१ बल खेल्दा तीन चौका र एक छक्का प्रहार गरेकी थिइन्।

कोशीकी अपसरी बेगमले ५४ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी थिइन्। कप्तान रुविना क्षेत्रीले दुई रन बनाएकी थिइन्।

बलिङतर्फ वाग्मतीकी संस्कृति फुयाँल र सोनी पाख्रिनले समान एक/एक विकेट लिएका थिए। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको वाग्मतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रन बनाएको थियो।

वाग्मतीका लागि यशोदा विष्टले ५४ बल खेल्दै चार चौकाको मद्दतमा ४१ रन बनाएकी थिइन्। अस्मीना कमाचार्यले २४ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

बलिङमा कोशीकी अपसरी बेगम र सबनम राइले समान दुई/दुई विकेट लिएका थिए भने सङ्गीता राईले एक विकेट लिइन्। यो कोशीको दोस्रो जीत हो।

बिहीबारको खेलमा कोशीले कर्णालीलाई १० विकेटले हराएको थियो। वाग्मतीको यो पहिलो हार हो। बिहीबारको खेलमा वाग्मतीले मधेस प्रदेशलाई पराजित गरेको थियो।

पुष ६, २०८० शुक्रबार १९:३२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।