अर्थतन्त्रका अधिकांश सूचक  सकारात्मक रहेको प्रधानमन्त्रीको दाबी

अर्थतन्त्रका अधिकांश सूचक  सकारात्मक रहेको प्रधानमन्त्रीको दाबी

विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको दाबी गरेका छन्। आर्थिक सूचक सार्वजनिक गर्दै उनले महँगी नियन्त्रणमा समेत सरकारले सफलता पाएको दाबी गरेका थिए।

मोरङ व्यापार संघद्वारा आयोजित व्यापार मेलामा उनले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सरकार अगाडि बढिरहेको र अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन निरन्तर क्रियाशील रहेको बताए।

'जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा थियो' उनले भने' एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकहरूमा राम्रो प्रगति देखिएको छ।'

महँगी नियन्त्रणका दृष्टिले २ वर्षयताकै प्रगतिमा रहेको भन्दै उनले वार्षिक औसत महंगीदर ७.११ प्रतिशत रहेकोमा अघिल्लो महिना ५.३८ प्रतिशतमा झरेको बताए।

चालु आर्थिक वर्षमा प्रतिमहिना औसत एक खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको र पछिल्लो चार महिनामा चार खर्ब ७७ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको उनले जानकारी दिए।

'रेमिटेन्समा निर्भरता अर्थतन्त्रको दीर्घकालीन समाधान त होइन, तर तत्कालको संकट निवारणका दृष्टिले यसको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान रहन्छ' उनले भने।

चालु आर्थिक वर्ष २०८०।८१ को चार महिनामा विदेशी मुद्राको सञ्चिति १६ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको, बैंकको ब्याजदर घटाइएको र बैँकहरुको कर्जा लगानी बढ्दै गएको उनको दाबी छ।

'कर्जाको औसत ब्याजदर १४ महिनापछि १२ प्रतिशतमुनि आएको छ। विगतमा यस्तो ब्याजदर अधिकतम १३.०३ प्रतिशतसम्म पुगेको थियो,' मेलामा उनले भने' कात्तिकमा कर्जाको औसत ब्याजदर ११.९६ प्रतिशत छ। राष्ट्रबैंकले गत शुक्रवार सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार नीतिगत ब्याजदर घटाएको छ।'

उनले राष्ट्र बैंकले बैंकदरका रूपमा समेत रहेको स्थायी तरलता सुविधाको दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारेको र यो आफैमा महत्त्वपूर्ण सुधार रहेको बताए।

पर्यटक आगमनमा यस वर्ष इतिहासकै नयाँ रेकर्ड कायम भएको उनको दाबी छ। सन् २०२२ भरिमा आएका पर्यटकभन्दा सन् २०२३ को नोभेम्बरसम्म पर्यटक आगमन ४९ प्रतिशतले बढेर ९ लाख १८ हजार पुगेको उनले जानकारी दिए।

अर्थतन्त्रका सूचकहरूमा महत्त्वपूर्ण सुधार आए पनि आम नागरिक र व्यवसायीहरूको मनोविज्ञान सकारात्मक बनाउने चुनौती सरकारसामु रहेको बताउँदै उनले भने' केही छैन, केही हुँदैन, केही सकिँदैन भन्ने मनोविज्ञानबाट माथि उठेर देश क्रमशः प्रगतिको बाटोमा छ, देशभित्रै केही गर्न सकिन्छ, हामीले केही गर्नै पर्दछ भन्ने भाष्य निर्माण हाम्रो चुनौती र कार्यभार दुवै हो।'

उनले तेस्रो पटक सरकारको नेतृत्व गरेको एक वर्षको अवधि पूरा हुँदै गर्दा यो अवधिमा महत्त्वपूर्ण उपलब्धि प्राप्त भएको दाबी समेत गरे।

पुष ६, २०८० शुक्रबार १७:५४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।