सलोन भन्छन्, ‘बुबा आमा बन्न निकै गाह्रो रैछ’

सलोन भन्छन्, ‘बुबा आमा बन्न निकै गाह्रो रैछ’

काठमाडौं : मुख्य अभिनेतामा असफल र सहायक भूमिकामा जमेका अभिनेता सलोन बस्नेत बुबा बन्ने तरखरमा छन्।

गत वर्ष मंसिर १२ गते प्रेमीका करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिएका सलोन सन्तानको पर्खाइमा छन्।

बुबा बन्ने समय नजिकिँदै गर्दा एक साता अघि करिश्मा र सलोनले केक काटेर सन्तान आउन लागेको खुशी मनाएका थिए। 

त्यो खुशी देखेका पत्रकारले सलोनलाई प्रश्न नगर्ने कुरै भएन। बिहीबार नयाँ फिल्म ‘राजमहल’को घोषणामा उपस्थित भएका सलोनलाई पत्रकारले घरको माहोल कस्तो छ भनेर प्रश्न सोध्ने मौका पाए। घरमा राजकुमार आउने हो कि राजकुमारी थाहा छैन तर के छ राजमहलको स्थिति यति बेला भनेर प्रश्न सोधियो।

यसको जवाफमा सलोनले राजमहल राम्रो भएको र रानी यति बेला चम्किलो रहेको भन्दै उपस्थित सबैलाई हँसाए। ‘राजकीय माहोल छ घरमा। रानी यति बेला चम्किलो हुनुहुन्छ। राजाले दुख पाउँदै हुनुहुन्छ अलिअलि,’ उनले भने। 

उनी यतिमा मात्रै रोकिएनन्। आफ्नो पहिलो सन्तान जन्मिने समय नजिँकिदै गर्दा उनले आफूलाई बडामहाराजका रुपमा दरबार मार्गमा घुम्दै गरेको ठट्यौली गरे। 

उनले आफूलाई हेर्दै भने, ‘बडामहाराज घुम्दै हुनुहुन्छ अहिले। जे होस् रमाइलो छ।’

उनको जवाफमा रमाइलो मानेका पत्रकारबाट फेरि प्रश्न सोधियो, ‘तयारी कस्तो हुँदै छ? जवाफमा सलोनले भने, ‘यो सारै गाह्रो तयारी रहेछ।’

सलोन माघबाट फिल्म ‘राजमहल’को सुटिङमा लाग्नेछन्। यो फिल्मलाई सबिन कुमार तोलङ्गीले निर्देशन गर्दैछन्।

पुष ६, २०८० शुक्रबार ११:२८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।