अर्शदीप र सञ्जु सामसन चम्किँदा भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजको उपाधि

अर्शदीप र सञ्जु सामसन चम्किँदा भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजको उपाधि

काठमाडौं : दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज भारतले जितेको छ।

सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोलीलाई ७८ रनले हराउँदै भारतले उपाधि २-१ ले जितेको हो।

२ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ दशमलव ५ ओभरमा २ सय १८ रनमा अल आउट भयो।

दक्षिण अफ्रिकाका लागि ओपनर टोनी डी जोर्जी ८१ रनमा आउट भए। मध्यक्रम र तल्लोक्रम नचल्दा नतिजा दक्षिण अफ्रिकाको पक्षमा गएन।

कप्तान एडेन माक्ररम ३६, डेविड मिलर १०, हेनरिक क्लासेन २१, केशव महाराज १४ र बेउरान हेन्डिक्सले १८ रन बनाए।

भारतका अर्शदीप सिंहले चार, आवेश खान र वासिन्टन सुन्दरले दुई-दुई तथा अक्षर पटेल र मुकेश कुमारले समान एक-एक विकेट हात पारे।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९६ रन बनाएको थियो।

भारतको जितमा सञ्जु स्यामसनले सर्वाधिक १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए। सञ्जुको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक हो।

तिलक बर्मा ५२ रनमा आउट हुँदा रजत पाटिदार २२, साई सुदर्शन १०, लोकेश राहुल २१ र अक्षर पटेल १ रनमा आउट भए।​ रिंकु सिंहले ३८ रनको योगदान दिए।

दक्षिण अफ्रिकाका बेउरान हेन्ड्रिक्सले तीन, नान्द्रे बर्गरले दुई, लिजाड विलियम्स, विवान मुल्डर र केशव महाराजले एक-एक विकेट लिए।

यसअघि यी दुई टोलीबीच भएको तीन खेलको टी२० सिरिज १-१ को बराबरीमा सकिएको थियो। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।

अब २६ डिसेम्बर र ३ जनवरी यी दुई देशबीच दुई खेलको टेस्ट सिरिज हुनेछ।

पुष ६, २०८० शुक्रबार ०७:३१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।