फिल्म ‘राज महल’को घोषणामा दरबार हत्याकाण्डको बहस, कसैले भन्यो अन्तर्राष्ट्रिय शक्ती, कसैले दीपेन्द्र
काठमाडौँ : फिल्म ‘राज महल’को निर्माण घोषणा गर्न आयोजित कार्यक्रममा फिल्म राजपरिवारको कथामा आधारित हुने भनेपछि पत्रकारहरू चलमलाए। नेपालमा राजतन्त्र समाप्त भएर गणतन्त्र आए पनि राजपरिवारप्रतिको क्रेज नहुने कुरै भएन।
त्यसमा पनि नेपालको राजतन्त्रकालमा फिल्मका लागि चाहिने सस्पेन्स, रोमान्स, थ्रिलर, सुखद अनि दुखद सबै पाटाहरू छन् नै।
अधिकांशले अहिले पनि बेलाबखत छलफल गर्ने सस्पेन्स थ्रिलर कथानक समान दरबार हत्याकाण्डको घटना पनि छ नै।
दरबारको कथा भनेर होला पत्रकारले दरबार हत्याकाण्डका विज्ञ वा प्रत्यक्षदर्शी जसरी फिल्मको कलाकारहरूलाई प्रश्न तेर्स्याए' राजा वीरेन्द्रको हत्या कसले गरेको हो जस्तो लाग्छ?
अभिनेता अर्जुन श्रेष्ठ कडा प्रश्न आयो भन्दै अघि सरेर भने' यो सरकारले, देशले त जवाफ दिन सकेको छैन, अब हामीले सही जवाफ त दिन सक्ने कुरा भएन। कसैले ज्ञानेन्द्र शाहले हत्या गरे भन्छन्,कसैले इन्डियाबाट भन्छन्,कसैले बाहिरकै मान्छे भन्छन्। यसैले हो भन्न अलिक गाह्रो हुन्छ।’
फिल्म, कलाकार अनि दरबार हत्याकाण्ड। भ्युज बटुल्ने मसला हुने पक्का। पत्रकारले के छाड्थे र! पूरक प्रश्न आयो तपाईँलाई के लाग्छ?
उनले‘अन्तर्राष्ट्रियबाट नै यो हत्या भएको हुन सक्छ' भनेर टार्ने प्रयास गरे। अनि प्रश्न तेर्सियो टिकटकबाट म्युजिक भिडियोहुँदै यही फिल्मबाट डेब्यु गर्न लागेकी मिस पवितिर। पत्रकारले तपाईँलाई कस्तो लाग्छ भनेर सोधेपछि उनले सटिक जवाफ दिइन्,‘मलाई त केही पनि लाग्दैन।’
पविबाट चाहिने मसला आएन। अनि पत्रकार लागे अभिनेता रमेश उप्रेतीतिर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकामा सँगै स्ट्रगल गरेको, पार्टी खोल्न सल्लाह दिएको उनले दाबी गर्ने गरेका छन्। उनी रवि निकट पनि छन्। त्यसैले उनको उत्तर अभिनेता कम नेता बढिको शैलीमा आयो।
उनले भाषण सुरु गरे'यो हत्यामा दीपेन्द्र सरकारको हात छ। ज्ञानेन्द्र सरकार,यो,त्यो ऊ भन्ने कोही होइन। यो दीपेन्द्र सरकारको हात छ।’
रमेशबाट ठोकुवा आए पनि पत्रकार अन्य कलाकारलाई छाड्ने मुडमा थिएनन्।
पालो अभिनेत्री आँचल शर्माको। उनले यो गम्भीर विषय भएको भन्दै यसमा नबोल्ने बताइन्। नबोल्दा नबोल्दै उनले 'दरबार हत्या काण्डबारे राम्रो जानकारी नभएको तर भाईले दाजुको हत्या गर्न नसक्ने' भन्दै अभिनेता उप्रेतीको ठोकुवाको खण्डन गरिन्।
‘म के भन्छु भने जसको घरमा जो-जो बित्नुभएको छ नि यो वास्तवमा ठुलो कुरा घटेको हो,’उनले भनिन्,‘उहाँहरू चुप लाग्नुको कुनै रिजन छ होला जस्तो मलाई लाग्छ ।अहिले तपाईँले सोधिहालेको प्रश्नको जवाफ अनुमानको भरमा यहाँ बसेर हल्का रूपमा नबोलौँ जस्तो लाग्छ। यस बारेमा अलिक जानेर सबैसँग छलफल गर्नुपर्छ।’
दरबारको कथामा बनाउन लागेको दाबी गरिएको फिल्म छहारी मल्टी मिडिया प्रालिले बनाउन लागेको रहेछ। यसका निर्देशक रहेछन् सबिन कुमार तोलाङ्गी। फिल्मका कलाकार अर्जुन श्रेष्ठ, रमेश उप्रेती, आँचल शर्मा, सरोज खनाल, मिथिला शर्मा, सलोन बस्नेत अनि मिस पवि र सिम्रन पन्त।
अनि निर्माता चैँ अनिल पाण्डे, प्रिन्स युवराज कार्की लगायत।
फिल्मको निर्माण टिम, कलाकार अनि बिहीबारको घोषणा कार्यक्रमबाटै खुट्टी हेर्दै चाल पाइयो भनेजस्तै यो फिल्मले गतिलो फिल्ममा भन्दा चर्को हल्लालाई हावा दिने संकेत देखियो नै। अब फिल्मको छायाङ्कन लगायतका काम सकिदैजाँदा दरबारको के-के विषयमा चर्का बहस गर्छन् यो फिल्मको कलाकारहरूले प्रतीक्षा गरौँ।
पुष ५, २०८० बिहीबार २३:२६:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।