का‌ग्रेसको मधेश प्रदेश सम्मेलन सुरू, शेखर पक्षद्वारा विरोध

का‌ग्रेसको मधेश प्रदेश सम्मेलन सुरू, शेखर पक्षद्वारा विरोध

काठमाडौं : नेपाली कांग्रेसको प्रथम मधेश प्रदेश सम्मेलन सुरू भएको छ। भोलिसम्म चल्ने सम्मेलनमा आठवटै जिल्लाका प्रतिनिधि सहभागी भएको पार्टीका मधेश प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले जानकारी दिए।

स्थानीय तिरहुतियागाछी मैदानमा आयोजित सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे।

सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरू सहभागी छन्।

मधेश प्रदेशका आठ जिल्लाका ८२५ जना प्रतिनिधिको सहभागिता रहने सम्मेलनका क्रममा प्रदेश समितिको राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदनमाथि छलफल गरिने प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए।

सम्मेलन सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विविध सवालमाथि गम्भीर छलफल गरी महत्त्वपूर्ण सन्देश प्रवाह गर्न सफल हुने विश्वास सभापति यादवले बताएका छन्।

शेखर कोइराला पक्षको विरोध

प्रदेश सम्मेलन चलिरहेकै बेला काँग्रेसका मधेस प्रदेश सभापति कृष्ण यादवले पार्टी ‘संगठन एकलौटी ढंगले चलाएको र सम्हालेको मन्त्रालयका कामकारबाहीमा अनियमितता गरेको’ भन्दै नेता शेखर कोइराला पक्षका नेताहरूले विरोध गरेका छन्।

सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै ज्ञापन पत्रसहित बिहीबार मधेस सम्मेलनमा प्रदर्शन गरेका नेताहरूले प्रदेश सभापतिले एकलौटी गरेको भन्दै केन्द्रीय सभापतिलाई ध्यानाकर्षण गराएका छन्।

‘केन्द्रीय सभापतिज्यूले आफैं अग्रसरता लिई पार्टीको मधेस कार्यसमितिलाई विधानअनुरूप सञ्चालन र मधेस सरकारमा भइरहेको अनियमितता लगायत समस्या समाधानका लागि अनुरोध छ,’ ज्ञापन पत्रमा उल्लेख छ, ‘मधेस कार्यसमिति र सरकारमा देखिएको अराजकताले प्रदेशमा पार्टी नै सिद्धिने चिन्ताले नेता तथा कार्यकर्ता पिरोलिएका छन्।’

काँग्रेस मधेस सभापति यादव मधेस सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालिरहेका छन्। सभापति यादवले पार्टीभित्र फरक विचार राख्नेलाई बेवास्ता गरेको पनि उनीहरूको आरोप छ।

नेता रञ्जित कर्ण, नरेशकुमार यादव, विनोद खनाल लगायतले सभापतिलाई सम्बोधन गरी ज्ञापन पत्रसहित प्रदर्शन पनि गरेका छन्। मधेस सम्मेलनमा मर्यादाक्रम विवाद हुँदा नेता शेखर कोइराला अनुपस्थित छन्। उपस्थित भएका पूर्वउपसभापति विमलेन्द्र निधि पनि मञ्चमा गएका छैनन्।

पुष ५, २०८० बिहीबार १६:०५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।