प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : साविक विजेता सुदूरपश्चिम पहिलो खेलमै एपीएफसँग पराजित

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : साविक विजेता सुदूरपश्चिम पहिलो खेलमै एपीएफसँग पराजित
तस्बिर : क्यानको फेसबुकबाट !

काठमाडौं : प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा साविक विजेता सुदूरपश्चिम पहिलो खेलमै पराजित भएको छ।

मुलपानी मैदानमा आज भएको खेलमा सुदूरपश्चिमलाई विभागीय टोली एपीएफले ९ विकेटले पराजित गरेको हो।

सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपीएफले १६.१ ओभरमा १ विकेट मात्र गुमाउँदै पुरा गरेको थियो। एपीएफका लागि ओपनर ज्योती पाण्डेले अविजित रहँदै सर्वाधिक ४९ रन बनाइन्। ज्योती पाण्डे र इन्दु बर्माले दोस्रो विकेटका लागि अविजित ७५ रनको साझेदारी गरे। ज्योतीले ४८ बल खेल्दै ९ चौका प्रहार गरिन्। इन्दुले ४४ बल खेल्दै ४ चौका मदतमा अविजित ३१ रन जोडिन्। सुदूरपश्चिमकी इश्वरी विष्टले १ विकेट लिइन्।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो।

जारी प्रतियोगितामा मधेश प्रदेशलाई हराउँदै बागमती प्रदेशले जितको सुरुवात गरिसकेको छ।

पुष ५, २०८० बिहीबार १३:५९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।