जब मधेश प्रदेशका मन्त्री वीरेन्द्र सिंहले किशोरीहरूलाई साथी बनाए…

जब मधेश प्रदेशका मन्त्री वीरेन्द्र सिंहले किशोरीहरूलाई साथी बनाए…
फाइल फोटो

काठमाडौं : मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले त्यहाँका किशोरीहरूलाई साथी बनाएका छन्।

मधेश प्रदेशको पर्सा जिल्ला स्थित पर्सागढी नगरपालिकामा ‘म बालिका हो, दुलही होइन’ अभियानमा सम्बद्ध सामुदायिक विद्यालयका छात्राहरूले आज मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहलाई भेटेर साथी बन्न आह्वान गरेपछि मन्त्री सिंहले उनीहरूको प्रस्ताव स्वीकार गरेका हुन्।

त्यहाँका ११० जना किशोरीहरूले भिजन क्लब गठन गरेर विद्यालय स्तरमा महिनावारी स्वच्छता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, बाल विवाह न्यूनीकरण, बाल सहभागिता जस्ता विषयमा छलफल चलाउँदै आएका छन्।

प्रदेशका विभिन्न जिल्लाहरूलाई किशोरीमैत्री बनाउने योजनाका साथ एकीकृत ग्रामीण स्वास्थ्य विकास तालिम केन्द्रले पर्सागढीका किशोरीहरूलाई चेतनासँगै क्षमता विकासका लागि विभिन्न अभिमुखीकरण कार्यक्रम संचालन गर्दै आइरहेको छ।

किशोरीहरूले मात्र यस विषयमा बोलेर आफ्नो नगर र समग्र प्रदेश किशोरीमैत्री नहुने भन्दै यसका लागि जनप्रतिनिधि सहित सरोकारवाला निकायका प्रतिनिधि सबैलाई साथी बनाएर एकीकृत पहलकदमी लिन यो उपाय अपनाइएको भिजन क्लबकी लिडर मधु यादवले बताइन्।

किशोरीहरूसँग साथी बन्ने कार्यक्रमका क्रममा बोल्दै मन्त्री सिंहले मधेश प्रदेशमा बालिका तथा किशोरीहरूले भोग्नुपर्ने सामाजिक, मानसिक साथै यौन तथा प्रजनन स्वास्थ्यका समस्याहरूलाई निराकरण गर्न आफू लागिपर्ने बताए।

पुष ५, २०८० बिहीबार १३:१६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।