रोल्पाको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री प्रचण्ड

रोल्पाको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री प्रचण्ड
फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रोल्पाबाट केन्द्र, प्रदेश र संघमा प्रतिनिधित्व गर्ने माओवादी सांसद तथा जनप्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले मुलुकको राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमितामा राखेको बताए।

रोल्पाका जनप्रतिनिधिहरूले पुन नेतृत्वको प्रतिनिधि मण्डलले आर्थिक वर्ष ०६४\०६५ देखि सुरू दाङको घोराहीदेखि रोल्पाको होलेरी-घर्तीगाउँ हुँदै पूर्वी रुकुमको हुकाम-मैकोटसम्मको शहीद मार्ग निर्माणको कामले अझै पूर्णता नपाएकामा प्रचण्डको गम्भीर ध्यानाकर्षण गराएका थिए।

उक्त सडकखण्डअन्तर्गत हाल होलेरी-दारबोट कालोपत्रेको चरणमा रहेको, दारबोट-घर्तीगाउँ-दुई खोली-खरिबोट खण्डमा कालोपत्रेका लागि ठेक्का भई काम सुरु भए पनि पर्याप्त बजेट अभावमा आयोजनाले अपेक्षित गति लिन नसकेकोबारे प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई जानकारी गराएको थियो। यस्तै हुकाम-मैकोट खण्डमा ट्र्याक खोल्ने काम नै बाँकी रहेकाले त्यसको पनि प्रबन्ध मिलाइदिन ज्ञापनपत्रमा माग गरिएको थियो।

विगतमा घोराही- होलेरी सडकखण्डको ३१.५ किलोमिटर सडक कालोपत्रे भएकामा निर्माण व्यवसायीको लापरबाहीले तोकिएको समयसम्म उचित मर्मत सम्भार नगरेका कारण पिच भत्किएर सो ठेक्का रद्ध गरी नयाँ प्रक्रियाका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृतिको चरणमा रहेको भन्दै उनीहरुले बजेटको न्यूनताका कारण ठेक्का प्रक्रियामा ढिलाई भएकाले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन्न प्रधानमन्त्रीसँग माग गरेका थिए।

जवाफमा प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित मन्त्रालयको टिमले विकास निर्माणका काममा भएका प्रगति समीक्षाका लागि समय लिएकाले सोही बैठकमा शहीद मार्ग निर्माण तथा कालोपत्रेका लागि तत्काल काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जाहेर गरेको रोल्पाका संघीय सांसद् एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।

प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउन सांसद पुनसहित लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र पुन, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ती, माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्ती, त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठा, रुण्टनीगढी गाउँपालिका अध्यक्ष जनक पुन र परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा बालुवाटार पुगेका थिए।

पुष ५, २०८० बिहीबार ११:५५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।