चार वर्षमुनिका बालबालिकालाई रुघाखोकीको औषधि प्रयोग गर्न भारतमा प्रतिबन्ध

चार वर्षमुनिका बालबालिकालाई रुघाखोकीको औषधि प्रयोग गर्न भारतमा प्रतिबन्ध

एजेन्सी : भारतको औषधि नियामक निकाय ‘केन्द्रीय औषधि मानक नियन्त्रण संगठन’ले चार वर्षमुनिका बालबालिकाहरूको लागि रुघाखोकीको लोकप्रिय औषधिको संयोजन प्रयोगमा प्रतिबन्ध लगाएको छ।

भारतमा उत्पादित कप सिरपको प्रयोग गरेर पश्चिमी अफ्रिकी मुलुकमा १ सय भन्दा बढी बालबालिकाको मृत्यु भएपछि संगठनले यसैसाता यस्तो निर्णय लिएको हो।

संगठनले अब औषधि उत्पादक कम्पनीहरूले फिक्स्ड ड्रग कम्बिनेशन (एफडीसी) औषधिको लेबलमा ‘एफडीसीको प्रयोग चार वर्षभन्दा मुनिका बालबालिकाले गर्नु हुँदैन’ भनेर लेख्न निर्देशन जारी गरेको छ।

भारतको औषधि नियामक संगठनले बालबालिकाको लागि अस्वीकृत रुघाखोकीको औषधिको फर्मुलेसनको प्रचार बढेकोमा चिन्तासमेत व्यक्त गरेको छ।

एफडीसीमा क्लोरफेनिरामाइन म्यालेट र फिनाइलफ्राइन समावेश हुन्छ। प्रायजसो चिसो र रुघाको उपचारको लागि सिरप र ट्याबलेटमा यसको प्रयोग हुन्छ।

विश्व स्वास्थ्य संगठनले पनि पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई लागेको खोकी र चिसोको उपचारको लागि डाक्टरको प्रेस्क्रिप्टसनविनाको सिरप वा अन्य औषधि प्रयोग गर्न सिफारिस गर्दैन।

पुष ५, २०८० बिहीबार १०:४५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।