आईसीटी क्षेत्रमा योगदान पुर्याउने महिलालाई एनसेलले सम्मान गर्ने

आईसीटी क्षेत्रमा योगदान पुर्याउने महिलालाई एनसेलले सम्मान गर्ने

काठमाडौं : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि(आईसीटी) क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महिलालाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सम्मान गर्ने भएको छ।

मनोनयनमा परेका ३४ जनाबाट सूचना प्रविधिको क्षेत्रमा पुर्याएको योगदानका आधारमा तीन चरणको मुल्याङ्कनपछि अवार्डका लागि ७ जना छनोट भएका छन्। शुक्रबार सोल्टी होटलमा ‘इनड्राइभ आइसिटी अवार्ड २०२३’ को ग्राण्ड फिनालेमा उक्त अवार्ड प्रदान गरिने कम्पनीले जनाएको छ।

प्रत्येक वर्ष, आइसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीले संयुक्त रुपमा आइसिटी क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने उत्कृष्ट व्यक्तित्वहरू, नवप्रवर्तन र संघ संस्थाहरूलाई आइसिटी अवार्ड प्रदान गर्दै आएको छ।

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ प्रदान गर्नका लागि एनसेलले आइसिटी अवार्डसँग सहकार्य गर्दै आएको छ। यो पुरस्कारको राशी नगद ३ लाख रहेको छ।

हरेक वर्ष प्रदान गरिने आइसिटी अवार्डमा आफ्नो सहकार्यलाई निरन्तरता दिँदै, एनसेलले विगत ३ वर्षदेखि महिलाहरूको योगदानलाई सम्मान र प्रोत्साहन गर्दै यो एनसेल वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्दै आएको छ।

गतवर्ष यो अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको थियो। सन् २०२१ मा गुण केशरी प्रधानले यो अवार्ड पाएकी थिइन्। त्यसैगरी, सन् २०२० मा प्राध्यापक तिमिला यमी थापाले यो अवार्ड पाएकी थिइन्।

पुष ५, २०८० बिहीबार ०९:३७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।