रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, नौ जना घाइते

रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, नौ जना घाइते

काठमाडौं : रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। नौ जना घाइते भएका छन्।

आठबीसकोट-१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा १ द १४ नम्बरको ट्रयाक्टर गए राति सवा १० बजे घुम्तीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय आठबीसकोटले जनाएको छ।

इलाका प्रहरी कार्यालय आठबीसकोटले विज्ञप्ति निकालेर मृतकहरूको नाम सार्वजनिक गरेको छ। मृत्यु हुनेमा आठबीसकोट-१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकी रहेका छन्।

यस्तै आठबीसकोट–१० स्थित डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ।

घाइते हुनेमा आठबीसकोट-८ का ४१ वर्षीय खड्कबहादुर पुन, वडा नम्बर १० का ३८ वर्षीय रमेश सार्की, वडा नम्बर ८ का १४ बर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमारघर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन्।

घाइतेहरूको नगर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि ट्रयाक्टर चालक आठबीसकोट–९ का २१ वर्षीय गोपाल विक फरार छन्।

पुष ५, २०८० बिहीबार ०७:२९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।