अपाङ्ग संघको कार्यालयको ताला खोल्ने सहमति !

अपाङ्ग संघको कार्यालयको ताला खोल्ने सहमति !

काठमाडौँ : लगभग चार महिनादेखि तालाबन्दी भएको नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्रको कार्यालयको ताला तत्कालको लागि खोल्ने सहमति भएको छ।

मंगलबार संघका अध्यक्ष साम्देन लामाले जबरजस्ती ताला खोले पनि बुधवार स्थानीय सरकारको रोहवरमा दुई पक्षीय सहमति गरेर तत्कालको लागि कार्यालयको ताला खोल्ने निर्णय भएको हो।

संघका अपाङ्गता भएका विद्यार्थी र आजीवन सदस्यहरुनै यहाँका भ्रष्टाचार र दुर्व्यवहारबारे आन्दोलनमा उत्रिएपछि धेरै बेतिथिहरू बाहिरिइरहेको छ।

उकेराले यस अगाडि अपाङ्गता भएकालाई संघमा राख्न परिवारका सदस्यसँग ५५ लाख असुलेको, यौन दुर्व्यवहार भएको, अवैध रूपमा क्यान्टिन चलाएको र अध्यक्ष स्वयम् नै अवैधानिक ढंगबाट निर्वाचित भएको समाचार प्रकाशित गरिसकेको छ।

बुधवार संघका पदाधिकारी तथा अपाङ्गता भएका आन्दोलनकारीहरूले वडा कार्यालयमा गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामाको संयोजकत्वमा सहमति गरे। अध्यक्ष लामाले गर्नु पर्ने १५ बुँदे मागहरू पुरा हुन केही समय लाग्ने बताएपछि समय निर्धारण गरेरै सहमति गर्ने उनीहरूको योजना छ।

यसको लागि भोलि बिहीबार फेरी वडा अध्यक्ष नवराज लामाकै संयोजकत्वमा बैठक समेत बस्दै छ।

१५ बुँदे मागहरूमध्ये कुन, कति बेला कार्यान्वयनमा ल्याउने भनेर भोली नै निर्णय गर्ने वडाले जनाएको छ।

यी मध्ये कुनै माग तोकिएको समयमा कार्यान्वयन नभए फेरी संघको कार्यालयमा ताला लगाउने आन्दोलनरत अपाङ्गता भएकाहरूले बैठकमा बताएका छन्। मंगलबार कार्यालयको ताला खोल्न अध्यक्ष लामाले धरपकड गरेका थिए।

जबरजस्ती ताला खोल्ने प्रयास भएपछि नगरप्रमुख दीपककुमार रिसाल र अध्यक्ष साम्देन लामालाई कालो झन्डा देखाउँदै आन्दोलनमा रहेकाले नाराबाजी गरेका थिए।

पुष ४, २०८० बुधबार २२:४५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।