प्रदेश खारेजका लागि आन्दोलन घोषणा गरेको राप्रपाले कोशीमा विष्टलाई सभामुख बनाउने
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस १ देखि ३ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकबाट हिन्दु राष्ट्र पुनःस्थापना र प्रदेश खारेजीका लागि आन्दोलनमा जाने निर्णय गर्यो। राप्रपाले आन्दोलनको लागि पुस र माघमा देशैभर तयारीको काम गर्ने समेतको निर्णय गरिसकेको छ ।
हप्ता दिन बित्न नपाउँदै राप्रपाको दोहोरो चरित्र सतहमा आएको छ। बुधबार कोशी प्रदेशमा सभामुखका लागि राप्रपाले आफ्ना प्रदेश सभा सदस्य अम्बरबहादुर विष्टलाई अघि सार्ने निर्णय गरेसँगै राप्रपाको दोहोरो चरित्र प्रष्टिएको हो।
विष्टले आफ्नो दलबाट सभामुख हुने सांसदको रुपमा विष्टको नाम दिएका छन्। एक–दुई दिनभित्र औपचारिक निर्णय गर्ने तयारी भएको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले जानकारी दिए।
राजनीतिमा नाटकीय परिवर्तन नभए विष्ट एक साताभित्र कोशीको सभामुख बन्नेछन्।
९३ सदस्यीय रहेको कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक छ। वर्तमान सत्ता गठबन्धनसँग जम्मा ४७ सांसद छन्। यस अंकगणितको खेलसँगै कोशीमा राप्रपाले यसअघि पनि सरकारमा भाग लिँदै बाहिरिँदै गर्दै आइरहेको छ।
राप्रपाले प्रदेश खारेजका लागि आन्दोलन गर्ने घोषणा गरे पनि बागमती प्रदेशमा यसअघि नै सभामुख लिसकेको छ। २०७९ पुस २९ गतेदेखि बागमती प्रदेशको सभामुखमा भुवन पाठक छन्।
पुष ४, २०८० बुधबार १६:३५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।