सेयर लगानीकर्ता राधा पोखरेलको विश्लेषण : लगानीकर्ताले जस्तो अर्थमन्त्री खोजेका थिए डा महत त्यस्तो बजारमैत्री हुनुभएन
सेयर बजारमा पछिल्लो समय उछाल आइरहेको छ। मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि बजारमा बढेर १८ सयबाट बुधबार दिउँसोसम्म २१ सय भन्दा माथि पुगिसकेको छ। सेयर बजारमा उछाल आउँदा चलखेलको चर्चा समेत भइरहेको छ। यसरी बेला-बेलामा सेयर बजारमा आउने उछाललाई लगानीकर्ताले कसरी बुझ्ने, यसबाट साना लगानीकर्ताले कसरी फाइदा लिने तथा राजनीति र सेयर बजारको सम्बन्ध लगायतका विषयमा नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग उकेराकर्मी अमृत पुडासैनीले गरेको कुराकानीको सम्पादित अंशः
अहिले नेप्से बढेको छ। मौद्रिक नीतिको त्रैमासिक समीक्षाको कारणले पनि होला। यो स्वभाविक हो कि चलखेल?
बजारलाई ड्राइभ गर्ने पहिलो भनेकै मौद्रिक नीति नै हो। त्योसँगै राजनीतिक अस्थिरता, तरलता र समय-समयमा फैलिले र्यूमरले पनि बजारलाई ड्राइभ गरिरहेको हुन्छ। मौद्रिक नीतिको त्रैमासिक समीक्षापूर्व बजार लगातार डाउन थियो। राष्ट्र बैँकले गरेको समीक्षामा लगानीकर्ताले लामो समयदेखि माग गरिराखेको कुराहरू ल्याइदिएपछि बजार बढ्यो। राष्ट्र बैँक सेयर बजारप्रति जहिले पनि नेगेटिभ थियो। अब चाहिँ पजेटिभ आउँछ कि भन्ने आशाले पनि बजार अलिकति राम्रो भएको हो।
मैले बजारमा हुने चलखेको पनि कुरा राखेको थिएँ नि!
बजारमा चलखेल नहुने भन्ने कुरा हुँदैन, हुन्छ नै। तर अहिले बजार बढ्नुमा चलखेल भएको भन्न मिल्दैन। यो मौद्रिक नीतिको प्रभावले बढेको हो। लगानीकर्ताको सेन्टिमेन्ट के भइसकेको थियो भने, बजारमा हाम्रो अर्बौँ पैसा डुब्यो, लगानी गर्ने वातावरण छैन। हामीले तीन वर्षको समय लगानी गरेको ५० प्रतिशत रकम पनि बजारमा छैन, घाटा छ नि! त्यसैले हुँदैन-हुँदैन भन्दै गर्दा अब चाहिँ राम्रो हुन्छ कि भन्ने आशाले बजार बढेको हो। यसलाई चलखेल भएको मान्न सकिँदैन।
अब यसरी नै उकालो लाग्ने हुन्छ कि, दुई/चार दिनको हरियाली मात्रै हो?
बजार यतिसम्म पुग्छ भनेर भन्न चाहिँ अमेरिकाको वारेन बफेडले पनि सक्दैनन्। बजारलाई ड्राइभ गर्ने त्यसको नीतिहरूले हो। कस्तो नीति बन्छन्, अर्थतन्त्रका सूचकहरू कस्तो अवस्थामा छन् यी सबै कुराले बजार निर्धारण गर्छ। त्यसैले बजार बढेर कहाँ पुग्छ भनेर ठ्याक्कै अनुमान गर्न सकिँदैन।
राजनीतिक व्यक्तिहरू सेयर बजार सम्बन्धी भाषण गरिरहन्छन्। यसले बजारमा कस्तो प्रभाव पार्छ ?
प्रभाव पर्छ नि! केही घटना नै हेरौँ न। लगभग १२ सयको हाराहारीमा बजार हुँदा तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले यसलाई जुवा घरको संज्ञा दिए। त्यो बेला बजार घटेर २९२ मा आएको थियो।
त्यसपछि युवराज खतिवडा अर्थमन्त्री हुँदा ‘उत्पादनमूलक क्षेत्रमा पैसा लगानी गर्नुपर्याे, सेयर बजारमा हैन’ भन्नुभयो। त्यो बेला १८८१ मा भएको बजार ११ सय झर्यो।
अनि बजार ३२ सयको हाराहारीमा हुँदा पुष्पकमल दाहालले यो बजार पूँजीपतिको लागि मात्रै हो, सानाको लागि होइन भन्दिनुभो। त्यही बोलेकै दिन एक सय अकंले बजार घटेर अहिलेको अवस्थामा आयो।
त्यस्तै, जनार्दन शर्मा अर्थमन्त्री भएको समयमा उहाँले ‘यो बजार त बेलुन जसरी फुलेको छ, भन्छन्’ भन्दिनुभो। यसले पनि बजारमा नकारात्मक प्रभाव पार्यो।
राजनीतिक दलका नेताले यसरी बोलिदिँदा लगानीकर्तामा नेगेटिभ असर पर्छ। किनभने पोलिसी बनाउने त उहाँहरूले हो नि! अनि पोलिसी बनाउने व्यक्तिबाटै यस्तो कुरा आएपछि बजार घट्ने नै भयो।
एमाले सरकार आउने बित्तिकै बजार ह्वात बढ्ने तर अरू पार्टी सरकारमा आउँदा घट्ने स्थिति छ। एमाले सरकारमा आउँदा लगानीकर्ताहरू उत्साहित भएका हुन् कि, संयोग मात्रै हो?
त्यो संयोग मात्रै होइन। किनभने, उहाँहरूले गरेको कर्मको आधारमा बजार घटबढ भइरहेको छ। विष्णु पौडेलकै कार्यकालमा बजार ३२ सयसम्म पुग्यो। उहाँ पुनः अर्थमन्त्री हुँदा बजार फेरि लगभग ५/६ सय अकंले बढ्यो।
विष्णु पौडेलले बजारप्रति नकारात्मक कुरा ल्याउनुहुँदैन भन्ने विश्वास लगानीकर्तामा छ। नेगेटिभ कुराहरू बोल्नु हुँदैन। बजारमा केही कुरा बिग्रियो भने खोजेर त्यो कुरालाई सच्याउन तथा मिलाउन गभर्नर र सचिवलाई भन्नुहुन्छ।
त्यसले गर्दा लगानीकर्ताको मनोविज्ञान एमाले र विष्णु पौडेलप्रति अलि बढी आशावादी छ। त्योसँगै उहाँहरूको कर्मको आधारमा पनि बजार राम्रो भएको हो।
अहिलेको अर्थमन्त्री डा.प्रकाशशरण महत हुनुहुन्छ। उहाँ अर्थशास्त्री नै हुनुहुन्छ। तर, पनि विष्णु पौडेल अर्थमन्त्री हुँदा र महत अर्थमन्त्री हुँदा बजारमा निकै उतारचढाव हुन्छ। के महतले सेयर बजार नबुझेका हुन त?
माओवादीको सरकार आउने भयो भन्ने कुराले हामीलाई एकदमै डर लागेको थियो। किनभने हामीलाई त जनार्दन शर्माजीले देखाइ सक्नुभएको थियो।
डा. प्रकाशशरण महत आउँदा पनि हामी एकदमै खुसी छौँ। तर जुन रूपमा लगानीकर्ताको अपेक्षा थियो, त्यो अनुसार भएन। उहाँ अर्थमन्त्री भएपछि दोहोरो अर्थ लाग्ने पोलिसी ल्याइदिनुभयो।
डा. महत आफैँ पनि अर्थशास्त्री हो, बुझेको हो। तर, लगानीकर्ताले जुन रूपको अर्थमन्त्री खोजेका थिए, उहाँ बजारमैत्री अर्थशास्त्री चाहिँ हुनुभएन।
तपाईँ साना लगानीकर्ता जोगाउनुपर्छ भन्दै लाग्नुभएको छ। साना लगानी जोगाउन नेपाल पूँजी बजार लगानीकर्ता संघ लगायतका संघहरूले के-के गरिरहेका छन्?
हामीले जोगाउने भन्दा पनि हामीले लबिङ्ग मात्र गर्ने हो। हाम्रो हातमा डाडुपन्यू त छैन। जस्तै, मौद्रिक नीति आउँदा यो गर्नुपर्याे भन्छौँ, बजेट आउँदा यस्तो कुरा समेट्नुपर्यो भन्छौँ, धितोपत्र बोर्डमा यो काम गरेपछि बल्ल सेयर बजारका लगानीकर्ता बाँच्छन् भन्छौँ।
म सेयर बजारमा प्रवेश गर्दा १८ लाख मात्रै इन्भेष्टर थिए। म यहाँ आउँदा नेताहरूले सेयर बजारका बारेमा बोल्दैनथे। हामीले यसबीचमै थुप्रै काम गर्यौँ, मानिसमा अवेरनेस फैलायौँ। आजकल सेयर बजारको कुरा सडकदेखि सदनसम्म हुन थालेको छ। मिडियामा त्यत्तिकै आउन थालेका छन्।
अहिले नेपाल पूँजीबजार संघ ७७ जिल्ला र सातै प्रदेशमा फैलिएको छ। ४३ जिल्लामा स्वयं म आफैँ उपस्थित भएर सेयर बजार सम्बन्धी जानकारी दिने गरेको छु। पछिल्लो समय १० कित्ता नीति हटाउनुपर्छ भन्ने कुरा आएको अवस्थामा हामीले यो हटाउनु हुँदैन भन्नेमा अडिग छौँ। हामीले दवाव दिने र लबिङ्ग गर्ने हो, त्यो गरिरहेका छौँ।
बैँकहरूको ब्याजदर घटेको अवस्थामा बजारलाई कस्तो प्रभाव पार्छ?
हामी एक अंकमा ब्याजदर हुनुपर्छ भन्छौँ। ८ प्रतिशतमा कर्जा लिएर लगानी गरेको मान्छेको ब्याजदर १६ प्रतिशत पुगेको छ। त्यसरी त सेयर बजारमा लगानी नै गर्न सकिँदैन नि! बैँकको ब्याजदर घट्नु हाम्रो लागि एकदमै राम्रो हो। लगानी बढाउन पाउँछौँ।
नयाँ स्टक एक्सचेन्जको कुरा पनि आएको छ। तपाईँजस्तो लगानीकर्ता संघहरू नयाँ आउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ कि, सुधारको पक्षमा?
जबसम्म प्रतिस्पर्धा हुँदैन, तबसम्म पारदर्शिता आउँदैन। जस्तो एनसेल नभएको भए एनटिसीको गुणस्तरमा सुधार आउँदैनथ्यो। रुखमा चढेर फोन गर्नुपर्ने अवस्था पनि थियो। त्यसले गर्दा एनसेल आएसँगै एनटिसीले पनि गुणस्तरमा सुधार गर्यो नि त! गुणस्तरमा सुधारका लागि पनि नयाँ स्टक एक्सचेन्ज त चाहिन्छ। त्योसँगै भएकोलाई सुधार पनि गर्नैपर्छ। यदि फेयर तरिकाले नयाँ स्टक ल्याइन्छ भने आवश्यक छ।
लगानीकर्ताको जोखिमलाई लगानीकर्ता संघहरूले कस्तो भूमिका खेल्न सक्छन्?
यसमा हामीले भन्दा पनि धितोपत्र बोर्डले भूमिका खेल्ने हो। धितोपत्र बोर्डले आईपीओमा प्रिमियम थपेर प्रिमियम आईपीओ निकाल्छ। जबकी आज-भोलि सेयर १०० मा किनेर त्यो भन्दा पनि कममा बिक्री गर्नुपर्ने अवस्था छ।
हामीले भनेको जोखिम हेरेर लगानी गर्नुस्। जस्तो पायो त्यस्तो कम्पनीमा लगानी नगर्नुस् भन्ने न हो। लगानी गर्दा विचार पुर्याएर लगानी गर्नुस्। कसैले घर किने वा गाडी किने भन्दैमा त्यसमा खर्च नगर्नुस् भन्ने हो।
पछिल्लो समय विद्यार्थीलाई सेयर बजारमा पैसा राखे बढ्छ भन्ने भ्रम छ। सेयर बजार सम्बन्धी ज्ञान चाहिँ छैन। तर सेयर बजार भनेको बढ्ने मात्रै होइन घट्ने पनि हो भन्ने कुरा उनीहरूले बुझ्नुपर्छ। उनीहरूलाई यसमा जोखिम छ भन्ने कुरा बुझाउनुपर्छ।
त्यसको लागि धितोपत्र बोर्डले जनचेतनाको कार्यक्रम गर्नुपर्छ अनि जस्तो पायो त्यस्तै कम्पनीहरूको आईपीओमा आउन दिनु भएन। संस्थागत सुशासन मेन्टेन नगर्ने कम्पनीहरूलाई खुला छाड्नुभएन।
तीन वर्षसम्म बजार घट्दा पनि राम्रो कम्पनीले दिने डिभिडेन्टले लगानीकर्तालाई रिटर्न दिन्छ नि त! त्यसैले धितोपत्र बोर्डले अलि बढी ध्यान दिनुपर्छ यसमा।
बजार घट्ने बित्तिकै लगानीकर्ताहरू सेयर बेच्न सुरू गर्छन्। बढ्ने बित्तिकै किन्न सुरू गर्छन्। तर ठूला लगानीकर्ताहरूले चलाखीपन देखाउँदा रहेछन्। साना लगानीकर्ताहरूले चाहिँ के गर्नुपर्छ?
हामीले बजार घट्दै गएपछि लगानी गर्नुस् बढ्दै गएपछि निस्कनुस् भन्छौ। बजार बढ्यो, सर्किट लाग्यो भने यो कम्पनी त राम्रो रहेछ भनेर लगानी गर्नुपर्ने हो। तर हाम्रो देशमा बजार घट्यो भने ३ वर्षसम्म उकालो लाग्दैन। कतिसम्म होल्ड गर्ने लगानीकर्ताले भन्ने पनि हुन्छ। नत्र बजारको सुल्टो पक्ष भनेको बजार घट्दा लगानी गर्ने, बढ्दा निस्कने नै हो।
जस्तो पाए त्यस्तो कम्पनीमा लगानी नगर्ने। राम्रो कम्पनीमा लगानी गरेको छ भने बजार घटे पनि राखिरहने। हल्लाको भरमा नलाग्ने।
सुन किनेर राखे पनि अरूले पित्तल हो भनेपछि हामी ‘हो रैछ क्यारे’ भनेर बेच्न हतारिन्छौँ। त्यो मूर्खता हो। बजारमा प्रवेश गर्नुपूर्व नै बजार घटे पनि होल्ड गर्नसक्छु भन्ने सोच राखेर मात्र लगानी गर्नुपर्छ। भात खान राखेको, बच्चा पढाउन राखेको पैसा लगानी गर्नुभएन।
अर्काे भनेको भएभरको काम छोडेर सेयर बजारमा आउने। त्यो मूर्खता कसैले नगर्नुस्। सेयर बजारलाई साइड जबमा राख्ने हो। हामीले केही कमाइ गरेका छौँ सो पैसा बैँकमा राखेको जस्तै सेयर बजारमा लगानी गर्नुपर्याे। भनाइको मतलब बचत भएको रकम मात्र लगानी गर्नुपर्यो।
बजार बढे बेच्छु, नबढे डिभिडेन्ट खान्छु भन्ने तरिकाले लगानी गर्नुपर्छ। २०३३ सालबाट खुलेको भए पनि यहाँको बजार अझै परिपक्व भइसकेको छैन। नीति पनि स्थिर छैनन्। अस्ति मौद्रिक नीतिको त्रैमासिक समीक्षा आयो, बजारमा तीन पटक सर्किट लाग्यो। नौ मिनेट पनि चलेन। बजार परिपक्व नभएपछि लगानीकर्ता परिपक्व हुने कुरै भएन।
नयाँ लगानीकर्ताहरूले कम्पनी छान्दा कसरी र कुन आधारमा छान्ने त?
पहिलो कुरा लगानीकर्ताले संस्थागत सुशासन व्यवस्थित छ कि छैन भन्ने कुरा हेर्ने हो। साथै, उनीहरूले नियमित बैठक बसेको छ कि छैन, रिपोर्ट बुझाएको छ कि छैन भन्ने हेर्नुपर्यो। कम्पनीले तीन वर्ष अगाडि देखिको वित्तीय अवस्था हेर्नुपर्छ।
मौद्रिक नीतिपछि मार्केटले बुलिस लयको संकेत दिएको छ। यो बेला लगानीकर्ता के गर्नुपर्छ?
मैले अघि पनि भनेँ, यो देशमा कुनै पनि नीति स्थायी छैन। नीतिले बजारलाई ड्राइभ गर्ने हो। नीति नै स्थिर नभएपछि बजार स्थिर हुन्छ भन्ठान्नु गलत हो। त्यसैले आज नाफा आयो भोलि बेच्छु भनेर नबसौँ। दीर्घकालीन सोचौँ। भोलिको दिनमा कस्तो नीति आउँछ कुरौँ, मौद्रिक नीति आउँदैछ। त्यसमा बजारसम्बन्धी केही बुँदा सुधार भएर आउँछ कि!
अन्त्यमा, सेयर बजार अहिले जुन तरिकाले बढेको छ, यसलाई निरन्तरता दिन नियामक निकायले कस्तो भूमिका खेल्नुपर्छ?
लगानीकर्ता संघसंस्थाहरूले धितोपत्र बोर्ड, राष्ट्र बैँक र अर्थ मन्त्रालयसमक्ष ८५ बुँदे माग राखेका थियौँ। ती मागहरू पाँच वर्षसम्म पनि पूरा भएका छैनन्। हिजोको र आजको अवस्थामा बजारमा धेरै परिवर्तन आइसक्यो। समस्या पनि फरक छन् अनि समाधानका उपाय पनि। ती समस्यालाई समाधान गर्न राष्ट्र बैँक, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड सुधारमा लाग्नुको विकल्प छैन। हामीले दिएका सुझावहरू डसबिनमा फालेर ‘बजारका लागि यो गरेका छौँ, त्यो गरेका छौँ’ भन्न भएन।
बजारले प्रत्यक्ष अनुभव गर्नेगरी, लगानीकर्ताले महसुस गर्नेगरी काम हुनुपर्यो। बजार ३२ सयमा पुग्दा लगानी गरेका लगानीकर्ता आज प्यानिक अवस्थामा छन्। कति त आत्महत्या गर्ने अवस्थामा पुगेका छन् भने कतिले गरिसके। त्यसकारण नियामक निकायले कुनै पनि लगानीकर्ताले मृत्युवरण गर्न नपर्ने तरिकाले काम गर्नुपर्छ।
पुष ४, २०८० बुधबार १५:३४:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।