नाडाको अध्यक्षमा करण चौधरी पक्कापक्की

नाडाको अध्यक्षमा करण चौधरी पक्कापक्की

काठमाडौं : नेपाली अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को आगामी नेतृत्वमा करण चौधरीलाई सर्वसम्मत चयन गर्ने सहमति भएको छ।

अध्यक्षका अर्का आकांक्षी आकाश गोल्छालाई अर्को कार्यकालमा सर्वसम्मत अध्यक्ष बनाउने सर्तसहित दुई पक्षबीच चौधरीको नाममा सहमति जुटेको हो।

नाडाको २० र २१ पुसमा हुने ४७ औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्दै छ।

नाडाको आगामी नेतृत्वका लागि सुरुमा चौधरी, गोल्छासहित राजनबाबु श्रेष्ठ पनि आकांक्षी थिए। सिप्रदीका सिइओ श्रेष्ठले चौधरीलाई अध्यक्षमा समर्थन गर्दै ‘ब्याक’ भएपछि दुईजना बीच चुनावी प्रतिस्पर्धा हुने देखिएको थियो।

चौधरी सिजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक हुन्, जसले मारुती सुजुकी गाडी बिक्री–वितरण गर्दै आइरहेको छ। यता, गोल्छाले फोर्ड ब्रान्डको गाडी बिक्री गर्दै आइरहेका छन्। नाडामा पनि नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघमा जस्तै वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गर्ने सहमति भएको छ।

नाडामा अध्यक्ष र कार्यसमिति सदस्यमा निर्वाचन गर्ने र निर्वाचित कार्यसमिति सदस्यहरूबाट उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायत पदमा निर्वाचित गर्ने व्यवस्था छ।

४ पुस, २०८०, १३:१४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।