भारतका विभिन्न बैंकमा रहेको ४२ हजार करोड बढी रकम जसको कोही हकवाला छैनन्

भारतका विभिन्न बैंकमा रहेको ४२ हजार करोड बढी रकम जसको कोही हकवाला छैनन्

काठमाडौं : भारतका विभिन्न बैँकमा बेवारिस रकम अर्थात् ‘अनक्लेम्ड डिपोजिट’ बढ्दै गएको छ।

भारत सरकारले त्यहाँको संसदमा पेस गरेको तथ्याङ्क अनुसार मार्च २०२३ सम्म भारतका विभिन्न बैँकमा जम्मा भएको बेवारिस रकम ४२ हजार २७० करोड रूपैयाँ पुगेको छ।

यो यस्तो रकम हो, जो विभिन्न बैँकमा जम्मा भएर पनि त्यसका हकवाला कोही नदेखिएका हुन्।

बिजिनेस स्ट्याण्डर्डको रिपोर्ट अनुसार सन् २०२२ मा सार्वजनिक र निजी क्षेत्रका बैँकमा ‘अनक्लेम्ड डिपोजिट’ ३२ हजार ९३४ करोड रूपैयाँ थियो। तर सन् २०२३ को मार्चसम्ममा यो रकम बढेर ४२ हजार २७२ करोड पुगेको छ।

विभिन्न बैँकले वार्षिक रुपमा आफ्नो बैंक अन्तर्गतका खाता पुनरावलोकन गर्ने क्रममा कुन खाता निष्क्रिय छ भन्ने पनि पत्ता लगाइन्छ। जब कुनै खातावालाले १० वर्ष यता आफ्नो खातामा रकम जम्मा नगरेको खण्डमा वा उक्त खाताबाट रकम ननिकालेको खण्डमा त्यस्तो खातामा रहेको रकमलाई ‘अनक्लेम्ड डिपोजिट’ भनिन्छ।

त्यस्तो खातावालासँग बैंकले सम्पर्क गर्ने प्रयास गर्दछ। तर जुन खातावाला सम्पर्क हुन सक्दैन वा उसको हकवाला सम्पर्क हुन सक्दैन, त्यस्तो खातामा रहेको रकमको परिमाणसहित सम्बन्धित बैँकले केन्द्रीय बैँकलाई जानकारी दिन्छन्। त्यसपछि त्यस्तो रकमलाई डिपोजिटर एजुकेशन एन्ड अवेयरनेस फण्डमा सारिन्छ।

‘अनक्लेम्ड डिपोजिट’लाई लिएर भारतको केन्द्रीय बैंकले सचेतना अभियान सञ्चालन गर्दछ, जसबाट त्यस्तो खातावालाको कानुनी हकदार पत्ता लगाउन सकियोस्। कुनै खातावालाको मृत्यु भएमा वा खातावालाले आफ्नो दस्तावेजमा कसैलाई हकवाला ठहर नगरेमा पनि ‘अनक्लेम्ड डिपोजिट’ बढ्ने विज्ञहरु बताउँछन्।

पुष ४, २०८० बुधबार १२:२७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।