भारतको संसदबाट १४१ सांसद निलम्बित, मोदीले लोकतन्त्रको घाँटी न्याँकेको विपक्षीको टिप्पणी

भारतको संसदबाट १४१ सांसद निलम्बित, मोदीले लोकतन्त्रको घाँटी न्याँकेको विपक्षीको टिप्पणी

एजेन्सी : भारतीय संसदबाट सांसदहरूलाई निलम्बन गर्ने क्रम जारी छ। जारी शीतकालीन सत्रमा मंगलबार ४९ लोकसभा सांसद निलम्बित हुँदा सोमबार ७८ सांसद निलम्बित भएका छन्।

मंगलबार निलम्बित सांसदसहित अहिलेसम्म निलम्बित सांसदको संख्या १४१ पुगेको छ। जसमध्ये ९५ लोकसभा र ४६ राज्यसभा सांसद छन्। यसअघि यति ठूलो संख्यामा सांसद निलम्बनमा परेका थिएनन्।

यसअघि १५ मार्च १९८९ मा ६३ सांसदलाई लोकसभाबाट निष्कासित गरिएको थियो। इन्दिरा गान्धी हत्याको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सदनमा पेश गर्न माग गर्दै हंगामा मच्चाएपछि उनीहरूलाई ती सांसदहरूलाई निलम्बन गरिएको थियो।

जारी सत्रमा निलम्बित सांसदहरूमा महुआ माजी जस्ता नयाँ सांसद, मनोज झा, जयराम रमेश, रणदीप सिंह सुरजेवाला, प्रमोद तिवारी, फारुक अब्दुल्ला, शशि थरुर, मनिष तिवारी, डिम्पल यादव जस्ता पुराना र अनुभवी सांसदहरू समेत छन्।

निलम्बनपछि कारबाहीमा परेका सांसदहरूले नरेन्द्र मोदी नेतृत्वको सरकारले ‘विपक्षमुक्त’ संसद देख्न चाहेकाले यस्तो कदम उठाएको आरोप लगाएका छन्। उनीहरूले सरकारले अधिनायकवादी रवैया देखाएको र लोकतन्त्रको घाँटी न्याँकेको टिप्पणी गरेका छन्।

विपक्षी सांसदहरूले संसदको बैठक कक्षमा दुई जना दर्शकदीर्घाबाट हाम फालेर धुवाँ उडाएको विषयमा बहस गर्न सभाध्यक्षसमक्ष माग गरेका थिए। उनीहरूले संसदमा भएको सुरक्षा कमजोरीका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहसँग प्रश्नोत्तर गर्न चाहेका थिए।

उता सरकार पक्षले भने सांसदहरूले संसदमा हंगामा मच्चाउँदै नियमित काम गर्न नदिएको आरोप लगाएको छ। संसदको काम रोकेकाले उनीहरूलाई निलम्बन गरिएको उनीहरूको भनाइ छ।

तर, विपक्षी दलले भने मोदी सरकारले अत्यन्त महत्वपूर्ण विधेयकलाई विना छलफल पास गर्नका लागि विपक्षी सांसदहरूलाई निलम्बन गरेको आरोप लगाएको छ।

आफ्नो मनोमानी गर्नका लागि मोदीले यस्तो कदम उठाएको भन्दै कंग्रेस आईले यसलाई लोकतन्त्रमाथिको आक्रमणको संज्ञा दिएको छ। संसदको सुरक्षालाई नजरअन्दाज गर्दै जनताको ध्यान भड्काउन सांसद निलम्बनको बाटोमा सरकार लागेको कंग्रेसको आरोप छ।

पुष ४, २०८० बुधबार ११:४७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।