ट्रम्प राष्ट्रपति चुनाव लड्न योग्य नभएको कोलोराडोको सर्वोच्च अदालतको ठहर

ट्रम्प राष्ट्रपति चुनाव लड्न योग्य नभएको कोलोराडोको सर्वोच्च अदालतको ठहर

एजेन्सी : अमेरिकाका पूर्व राष्ट्रपति एवं रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई २०२४ को राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन्।

कोलोराडोको सर्वोच्च अदालतले मंगलबार अबेर राति यस्तो फैसला सुनाएको हो। अदालतले उनलाई निर्वाचन लड्नका लागि अयोग्य ठहर गरेको छ।

संविधानको १४औं संशोधनको धारा ३ प्रयोग गरेर कसैलाई राष्ट्रपति निर्वाचनको लागि अयोग्य ठहर गरेको अमेरिकाको इतिहासमा यो नै पहिलो पटक हो।

यसअघि अमेरिकाको कयौं राज्यमा ट्रम्पमाथि निर्वाचन लड्न रोक्नका लागि अदालतमा मुद्दा परे पनि त्यसमा ट्रम्पकै पक्षमा फैसला आएको थियो।

यो निर्णय कोलोराडो राज्यमा मात्र लागू हुनेछ। यसमा पुनरावेदन विचाराधीन भएकाले त्यसको निर्णय अर्को पेशीमा गरिने समाचार संस्था बीबीसीले जनाएको छ।

‘हामी यत्तिकै यो निष्कर्षमा पुगेका हैनौं, हाम्रा अगाडि जति पनि प्रश्नहरू, तिनका परिणाम र यो कति ठूलो फैसला हो भन्नेबारे जानकार छौँ,’ सर्वोच्च अदालतले आफ्नो फैसलामा भनेको छ, ‘यसरी नै कानुन पालना गर्ने आफ्नो गम्भीर कर्तव्यप्रति पनि हामी सचेत छौँ, विना कुनै डर, पक्षपात भएर हामीले यो फैसला गरेका हौं।’

यो फैसला कोलोराडाको तल्लो अदालतका न्यायाधीशले दिएको एक पुरानो फैसलाको ठ्याक्कै उल्टो हो। उक्त फैसलामा संविधानको १४औं संशोधन राष्ट्रपतिहरूमाथि लागू नहुने बताइएको थियो।

यद्यपि उसले २०२१ मा अमेरिकाको क्यापिटल हिल (संसद भवन)मा भएको दंगामा ट्रम्प सहभागी भएको समेत उक्त फैसलामा उल्लेख थियो।

सन् २०२० मा राष्ट्रपति निर्वाचनमा जो बाडइेनको जितलाई अस्वीकार गर्दै जनवरी २०२१ मा ट्रम्पका समर्थक क्यापिटल हिलमा प्रवेश गरेका थिए।

पुष ४, २०८० बुधबार ०९:०४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।