पाल्पा सम्मेलनमा भएको लापरबाहीप्रति क्षमा चाहन्छु, सरी : महामन्त्री थापा

पाल्पा सम्मेलनमा भएको लापरबाहीप्रति क्षमा चाहन्छु, सरी : महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको पाल्पा जिल्ला सम्मेलनमा लापरबाही भएको स्वीकार गरेका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत मंसिर ३० गते भएको पाल्पा जिल्ला सम्मेलनमा लापरबाही भएको स्वीकार गर्दै माफी मागेका हुन्।

सम्मेलनका क्रममा तानसेन नगरपालिकाको ब्यानरलाई सम्मेलनको ब्यानरले छोपेपछि उनको र कांग्रेस पाल्पा जिल्ला समितिको चर्को आलोचना भएको थियो।

जिल्ला कार्यसमितिले सम्मेलनका लागि गरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएको थियो।

तर हलमा कांग्रेस कार्यकर्ता तथा शुभेच्छुक नअटाएपछि उनले बार्दलीमा गएर मन्तव्य दिएका थिए।

त्यस क्रममा ‘तानसेन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय’को ब्यानरलाई सम्मेलनको ब्यानरले छोपिएको थियो। महामन्त्री थापाले यसबारेमा जानकारी नराख्नु र ध्यान नपुग्नु आफ्ना गल्ती भएको स्वीकार गरेका छन्।

उनले भनेका छन्, ‘यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो गल्ती हो। त्यसप्रति म माफी चाहान्छु। पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ, आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौँ।’

पुष ४, २०८० बुधबार ०८:१७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।