एकीकृत समाजवादीले ७० वर्षे उमेर हद नराख्ने

एकीकृत समाजवादीले ७० वर्षे उमेर हद नराख्ने

काठमाडौं : एकीकृत समाजवादीले ७० वर्षे उमेर हदको व्यवस्था हटाउने तयारी गरेको छ।

‘सक्रिय राजनीतिबाट अवकाश लिने कुरालाई स्वेच्छिक बनाउन सबै नेताहरू सहमत हुनु भएको छ’, उपमहासचिव गंगालाल तुलाधरले भने। उनका अनुसार विधानमै राखेर बाध्यकारी बनाउन नहुनेमा नेताहरू सहमत भएका हुन्।

‘कसैले ७० वर्ष नपुग्दै विदा लिन्छु भन्नुभयो भने त्यो पनि मान्नु पर्यो। कसैले धेरै उमेर भइसके पछि पनि जनताको सेवा गर्छु भन्दा रोक्न हुन्न’, तुलाधरले भने। तर पार्टीलाई प्रौढ र युवाहरूको संगमबाट चलाउनुपर्छ भन्नेमा पनि नेताहरू सहमत भएको उनले बताए।

‘५० वर्ष माथि र मुनि गरी ५०÷५० प्रतिशत प्रतिनिधित्वको सुनिश्चित गर्नुपर्छ भन्ने प्रस्ताव छ’, उपमहासचिव तुलाधरले भने। आगामी महाधिवेशनका लागि विधानमाथि एकीकृत समाजवादीको सचिवालय बैठकमा छलफल चलिरहेको छ।

छलफलका क्रममा उमेर हद, प्रतिनिधि चयन, पदाधिकारी संख्या लगायतमा नेताहरूले कुरा राखिरहेका छन्। ‘पदाधिकारी संख्या घटाउनुपर्छ भन्नेमा पनि लगभग सहमति छ’, तुलाधरले भने।

पुष ३, २०८० मंगलबार १८:३२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।