हिन्दु राष्ट्र र प्रदेश खारेजीको माग गर्दै राप्रपाले आन्दोलन गर्ने

हिन्दु राष्ट्र र प्रदेश खारेजीको माग गर्दै राप्रपाले आन्दोलन गर्ने

काठमाडौँ : राजसंस्था, हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आन्दोलन गर्ने निर्णय गरेको छ। 

पार्टीको केन्द्रीय समितिले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो।  आन्दोलनको तयारीका लागि पुस र माघमा सभा तथा तयारी, फागुनमा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको हो।

मंगलबार पार्टीको निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलनका लागि समान विचार राख्ने दल, धार्मिक सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मीहरूकाे, बुद्धिजीवीलाई सहभागी हुन आग्रह गरेका थिए।

बैठकले अध्यक्ष लिङ्देनको नेतृत्वमा आन्दोलनको मूल समिति गठन गरेको छ। समितिमा केन्द्रीय कार्य समितिका सबै पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्य रहेका छन्।

महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति,कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठको संयोजकत्वमा प्रचार तथा प्रसार समिति गठन गरेको छ।

बैठकले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प प्रभावित परिवारहरूलाई तत्काल पालबाट अस्थायी आवासमा स्थानान्तरण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको थियो।

वित्तीय संस्थाको चर्को व्याज दरका कारण उद्योगी, व्यवसायी र खास गरी साना उद्यमी व्यवसायी तथा किसानहरूको धितो लिलाम हुने परिस्थिति सिर्जना भएकाले उनीहरूको भुक्तानी तालिका कम्तीमा एक वर्ष म्याद थप गर्न र  ब्याज दरलाई एकल बिन्दुमा ल्याउन समेत माग गरेको थियो।

उखु किसानले प्राप्त गर्नुपर्ने रकम कुनै विलम्ब नगरी तत्काल उपलब्ध गराउन, दुग्ध किसानले पाउनुपर्ने रकम शीघ्र र सहज रूपमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको थियो।

प्रवासमा रहेका नेपालीले मतदान गर्न पाउने कानुनी अधिकारको सुनिश्चितता सहितको कानुन आगामी संसद्को अधिवेशनबाट पारित गर्ने गरी संसद्मा पुर्याउन,  एनसेल आजियटाको शेयर बिक्रीमा भएको भ्रष्टाचारको विरोध गर्दै उच्चस्तरीय छानबिन गर्न माग समेत गरेको छ।

पुष ३, २०८० मंगलबार १८:१४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।