हनी ट्रयापको अभियोगमा तीन महिला दोषी, डेढ वर्ष कैद

हनी ट्रयापको अभियोगमा तीन महिला दोषी, डेढ वर्ष कैद

दाङ : एक कानुन व्यवसायीलाई हनी ट्रयापमा पारेर पैसा असुलेको अभियोगमा तीन महिलालाई डेढ वर्ष कैद सजाय भएको छ।

होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिँदै १८ लाख असुलेको अभियोगमा उनीहरू अदालतबाट धरौटीमा रिहा भएका थिए।

जिल्ला अदालत दाङले उनीहरूलाई डेढ वर्ष कैद र जरिवानाको फैसला गरेको अदालतका तहसिलदार निरञ्जनबाबु पाण्डेले बताए। जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले कानुन व्यवसायीबाट १ लाख नगद र १७ लाख चेक बुझेका घोराही १५ का ३२ वर्षीया सीतादेवी थापालाई कैदसहित १५ हजार रूपैयाँ, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई कैदसहीत जनही १० हजार रुपैयाँ जरीवाना गर्ने फैसला गरेको हो।

उनीहरूले सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तमा १८ लाखमा कुरा मिलाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। ती महिलाबाट प्रहरीले १७ लाखको चेक समेत बरामद गरेको थियो।

उनीहरुबिरुद्ध मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाखसम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो।

पुष ३, २०८० मंगलबार १७:५८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।