एनसेल सेयर खरिद-बिक्री प्रकरणमा परेको रिटमाथिको सुनुवाई सकियो, आजै फैसला आउने

एनसेल सेयर खरिद-बिक्री प्रकरणमा परेको रिटमाथिको सुनुवाई सकियो, आजै फैसला आउने

काठमाडौं : एनसेलको सेयर खरिद-बिक्री प्रकरणबारे परेको रिटमाथिको सुनुवाई सकिएको छ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले दिएको जानकारी अनुसार रिटमाथिको सुनुवाई सकिएको र आजै बेलुकासम्म सो रिटको फैसला आउने छ।

यसअघि पटक पटक पेसी तोकिँदै आएपनि हेर्न नभ्याइने सूचीमा राखिएको सो रिटको पेसी आज भने न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा तोकिएको थियो।

प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै अघिल्लो शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा नेपालको नियम, कानुनको पालना नगरी कर छल्ने उद्देश्यले निकै कम मूल्यमा ८० प्रतिशत सेयर बिक्री गर्न भएको सम्झौतालाई मान्यता नदिन परमादेशको माग गरिएको छ।

एनसेलको सेयर खरिद-बिक्री प्रक्रिया रोक्नका लागि आदेश आइसकेको छ। यसअघि नै उच्च अदालत पाटनले एनसेलले सेयर खरिद-बिक्री गर्न नपाउने आदेश जारी गरिसकेको हो।

आजिएटाले केही दिनअघि सञ्चार मन्त्रालयलाई जवाफी पत्र पठाउँदै सतिसलाल आचार्यलाई ६ अर्ब ६५ करोड रूपैयाँमा आफ्नो स्वामित्वको सबै सेयर बिक्री गरेको स्वीकार गरेको छ।

सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको गरेपछि विवाद उत्कर्षमा आएको हो।

पुष ३, २०८० मंगलबार १५:३९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।