राजधानी बाहिर जानुपर्ने अवस्था बाहेक प्रधानमन्त्री प्रचण्ड अबदेखि १० बजे नै सिंहदरबार पुग्ने

राजधानी बाहिर जानुपर्ने अवस्था बाहेक प्रधानमन्त्री प्रचण्ड अबदेखि १० बजे नै सिंहदरबार पुग्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि १० बजे नै कार्यालय पुग्ने र नियमित काममा खटिने भएका छन्।

सोही अनुसार प्रधानमन्त्री प्रचण्ड आज १० बजे नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पुगेको उनको सचिवालयले जनाएको छ।

राजधानी बाहिर जानुपरेको अवस्थामा वा अत्यन्त जरुरी अन्य कुनै काम परेको बाहेक अब देखि हरेक दिन १० बजे नै कार्यालय पुगेर काम गर्ने योजना रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

सरकारका काम जनताको अपेक्षा अनुसार हुन नसकेको भनेर आत्मसमीक्षा गरेका प्रधानमन्त्री प्रचण्डले अबदेखि नयाँ ढंगले काम गर्ने घोषणा गरेका थिए।

ललितपुर महानगरपालिकाको १०५ औं वार्षिक उत्सव समारोहलाई सोमबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले अब नयाँ ढंगले अघि बढ्ने बताएका थिए। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्रीले सोमबार मुख्य सचिव र सचिवहरूलाई आफू मङ्गलबारदेखि १० बजे नै कार्यालय आउने जानकारी गराउँदै अन्य कर्मचारीहरूलाई पनि समयमै कार्यालयमा उपस्थित भएर कामकाज गराउन भनेका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले प्रधानमन्त्री प्रचण्ड आज १० बजे नै कार्यालयमा आएको बताए।

‘उहाँ कार्यभार सम्हालेदेखि नै भ्याली बाहिर जाँदा बाहेक प्रायः हरेक दिन चाँडै नै कार्यालयमा आउनुहुन्थ्यो, आज त १० बजे नै आउनु भएको छ,’ प्रवक्ता भट्टले भने, ‘अबदेखि सधैं १० बजे नै कार्यालय आउने भन्ने सुनेको छु।’

अन्य दिनहरूमा भने प्रधानमन्त्री प्रचण्ड विभिन्न भेटघाट र कार्यक्रममा बालुवाटारस्थित निवासमा व्यस्त हुँदा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुग्ने समय निश्चित हुने गरेको थिएन।

पुष ३, २०८० मंगलबार १३:२९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।